आसन्न निर्वाचनलाई सफल बनाउन कुनै पनि बहानामा राजमार्ग बन्द हुन नदिन सम्बन्धित कार्यालयलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आज निर्देशन दिएका छन् ।

जङ्गल छेउछाउँका राजमार्ग रुख ढलेर वा बाटो बिग्रेर बन्द हुने अवस्था आउन नदिन उनले सो निर्देशन दिएका हुन् । निर्देशनअनुसार सडक कार्यालयले जनताबाट आएका गुनासोलाई अविलम्ब सम्बोधन गर्नुपर्ने र संस्थानका सवारी साधनलाई चालू अवस्थामा दुरुस्त बनाएर राख्नुपर्ने उल्लेख छ  ।

निर्वाचनमा हुनसक्ने अराजक गतिवधिलाई निस्तेज पार्न प्रहरी सङ्ठनको  क्रियाशीलता बढाउनुपर्ने, मतदानमा खटिने कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ । एक मतदानस्थलमा आठ देखि १२ जना कर्मचारी परिचालन गरिने र  निर्वाचनलाई भयरहित, स्वच्छ, स्वतन्त्र, पारदर्शी तथा धाँधलीरहित बनाउन तीन घेरामा सुरक्षा रहने व्यवस्था गरिएको प्रजिअ दाहालले बताए ।

अतिसंवेनशील र सामान्य मतदानस्थल वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइने जानकारी दिँदै उनले भने,“जनताको मत प्रकट गर्ने निर्वाचन हर हालतमा स्वच्छ एवं निष्पक्ष बनाउन प्रशासन तयार छ ।”