पथरी । बुबाआमाको निधन हुँदा छोरा नै किरिया बस्नु पर्ने हिन्दु संस्कारमा परिवर्तन आउन थालेको छ । पछिल्लो समय छोरीहरू पनि किरिया बसेर बुबाआमाको १३ दिने काम सम्पन्न गर्ने गरेका छन् ।

यस्तै उदारहणीय पात्रका रूपमा मोरङ कानेपोखरी गाउँपालिका–६ हनुमान चोककी दुर्गा विक रहेकी छन् । मुटु रोगबाट पीडित ४० वर्षीया आमा देवीको निधन भएपछि उनी किरियापुत्री बसेकी हुन् ।

आमाको किरियापुत्री बसेर उनले समाजमा छोरीमाथि हुने विभेदविरुद्ध सन्देश दिएकी छन् । दुई छोरीमध्ये जेठी दुर्गा किरियापुत्री बनेकी छन् भने कान्छी छोरी ८ वर्षकी भएकीले किरियापुत्री बसेकी छैनन् । स्थानीय जनसेवा माविमा अध्ययनरत दुर्गाले छोरासरह नै छोरीले पनि भूमिका निर्वाह गर्न सक्ने बताइन् ।

निम्न आर्थिक आयआर्जन भएका दुर्गाको बुबा टीकाराम घरको गर्जो टार्ने सिलसिलामा काठमाडौँमा मजदुरी गर्छन् । लामो समय मुटु रोगबाट पीडित देवीको उपचारको क्रममा मृत्यु भएपछि छोरी नै किरिया बसेर सामाजिक संस्कार परिवर्तन गर्न लागिपरेकी छन् । आमाको दागबत्ती पनि उनैले दिइन् ।

‘छोरीले आमाको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने कुरा समाजमा गलत मान्यता हो’ कक्षा १२ पढिरहेकी दुर्गाले भनिन्, ‘मेरो आमाको सन्तान बहिनी र म मात्र हुँ, आमाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ, हामीले यो संस्कारको विकास गर्नुपर्छ ।’

पण्डितबाजे र आफ्न्तले छोरीले दागबत्ती दिन र किरिया बस्न मिल्दैन भनेपछि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले सहजीकरण गरेपछि उनी दागबत्ती दिन र किरियापुत्री बस्न सफल भएकी हुन् ।