धरान । २०७९ को नेपाली पात्रोलाई ४० वर्ष पछाडि फर्काउने हो भने धरानको एउटा सुन्दर चित्र देखिन्थ्यो । सीमित सवारी साधन, भर्खर सहरीकरणमा प्रवेश गर्दै गरेको कालखण्ड । काठका घरबाट कङ्क्रिटको घर बन्दै गरेको त्यो कालमा धरानको एउटा निर्णय आजपर्यन्त लागू भइरहेको भए, धरानको त्यो सुन्दर चित्र अहिले कति जीवन्त हुन्थ्यो ? तर, २०४५ साल भदौ ५ गते भूइँचालोले त्यो निर्णयलाई तहस–नहस मात्रै पारेन । धरानलाई मृत सहरको ‘ट्याग’ पनि लगाइदियो ।
त्यो निर्णय थियो–धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्मको ‘वन–वे (एकातर्फी)’ सडक । २०४० साल चैत २९ गते सुनसरीको धरानमा जिल्ला तहको ट्राफिक प्रहरी कार्यालय बस्ने काठमाडौँको तोक आदेशपश्चात् धरानमा ट्राफिक प्रहरी कार्यालय सुरु भएको तत्कालीन ट्राफिक हवल्दार ललितमान तखाछे बताउँछन् । धरानमा २०४१ सालपश्चात् हालको महेन्द्र पथको बाटोमा धरान नगर पञ्चायत, यातायात व्यवसायी र नेपाल प्रहरीको एसपी कार्यालय (हालको १ नम्बर सङ्घीय प्रहरी कार्यालय) को समन्वयमा एकातर्फी सडक बनाइएको थियो । त्यो बेला नीति नियम नै नभए पनि सबैको पहलमा सुरु गरिएको उनी बताउँछन् । ‘नीति नै नभए पनि ट्राफिक प्रहरीले नै वन–वे बनाएको हो’–उनले भने ।
भानुचौक पूर्वी पहाडी जिल्लाको सवारी साधनको नाका भएकाले पनि सवारीलाई व्यवस्थित गर्न एकातर्फी सडक बनाइएको थियो । पहाडी जिल्लाबाट आएका सवारी साधनहरूलाई लक्ष्मीचोकदेखि सिधै भानुचोक आए जरिबानासम्म गर्ने प्रावधान राखिएको थियो । तखाछे भन्छन्, ‘ट्राफिक प्रहरी बसेपछि नै त्यो नियम बनाइएको थियो । एक–दुई पटकसम्म सम्झाउने र अटेर गरे जरिबानासम्म गरिन्थ्यो । जरिबाना ट्राफिक प्रहरीले गर्ने नियम थिएन । लाइसेन्स, ब्लुबुक लिएर यातायात कार्यालय पठाइदिन्थ्यौँ ।’
तत्कालीन समयमा मोटरसाइकललाई समेत त्यो छुट दिइएको थिएन । घरधनीले समेत भित्री सडकको बाटो प्रयोग गरेर भानुचोकबाट मास्तिर आउनुपर्ने बाध्यता थियो । तत्कालीन समयमा जरिबानामा परेका सेवक अभियानका अभियन्ता राजीव हल्वाई भन्छन्, ‘यहाँ हिँड्दा मै जरिबानामा परेको छु । एक–दुईचोटीसम्म सम्झाउँथे । अति गरेमा जरिबाना काटिहाल्थे ।’
ट्राफिक अहिले अस्तव्यस्त छ । तत्कालीन समयमा सीमित सवारी साधन थिए । तर, पनि ट्राफिक व्यवस्थापनकै लागि गरिएको त्यो प्रयास अहिले चाहिँ अतिआवश्यक भएको तत्कालीन समयका ट्राफिक हवल्दार लालबहादुर कार्की बताउँछन् । उनी विगत सम्झँदै भन्छन्, ‘गाडीहरू कम नै भए पनि वान–वे पालन गरेका थिए । एम्बुलेन्स, दमकल र अग्रिम जानकारी गराएको अवस्थामा ठूला मान्छेको सवारी हुँदा चाहिँ छुट गरेका थियौँ ।’
नेपाली सेनाका जर्नेलसम्म ओहोदाका गाडीलाई नछाडेको निहुँमा उनी दुई पटक एसपी कार्यालयमा पुगेको स्मरण गर्छन् । ‘दुई पटक त आर्मीको गाडी रोकेको निहुँमा एसपी अफिस नै पु¥याए । तैपनि म डगिनँ ।’ उनको त्यही योगदानकै कारण ‘धरानको ट्राफिक दाइ’ को उपनाम नै पाए । उनका अनुसार भूकम्प आएपछि पहिलाको जस्तो ट्राफिक व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘भूकम्प गएपछि लथालिङ्ग भयो । सबैतिर बाटो भत्कियो । त्यसपछि निरन्तरता नहुनुमा दैवीप्रकोप पनि भयो ।’ अवकाशप्राप्त तखाछे पनि भन्छन्, ‘२०४५ सालको भूकम्प आएपछि नीति नियम नै हरायो ।’
हवल्दार कार्कीका अनुसार त्यसबेला अटेर गर्ने चालकहरूलाई एकपटकमा पाँच रुपैयाँसम्म जरिबाना लगाउने गरिएको थियो । ‘दुई–तीन पटक त सम्झाउँथ्यौं । अटेर गर्ने, घमण्ड गर्नेलाई जरिबाना काटिन्थ्यो’–उनी भन्छन् । त्यसबेला काठमाडौँले तीन पाङग्रे टेम्पोहरूलाई हटाएका कारणले ती टेम्पोहरू पूर्वतिर आएका थिए । धरानमा त्यसबेला २५ देखि ३० वटा टेम्पो ल्याइएको ट्राफिक प्रहरी बताउँछन् ।
त्यसबेलाका जानकारहरूका अनुसार धरानको महेन्द्र पथमा भीडभाड नहोस् भनेर नै एकातर्फी बनाइएको थियो । कोशी बस व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद सुवेदी भन्छन्, ‘भीडभाड नहोस् भनेर सुरु भएको थियो । राम्रै भाको थियो । त्यो बेला नगर बस पनि चलाएका थियौँ ।’ उनका अनुसार ठूला सवारीलाई ५ सय रुपैयाँसम्म दण्ड जरिबाना गर्ने गरिएको थियो । ‘पहाडतिर जाने मात्रै नयाँ बजार हुँदै जान्थे । नत्र जरिबाना गरिन्थ्यो । भूइँचालोपछि जतापट्टिबाट पनि जान–आउन मिल्ने भयो ।’
२०४३ सालमा नगर पञ्चायतका प्रमुख बनेका कवि बम देवानका अनुसार एकातर्फी सडकको सुरुवात श्यामगोविन्द श्रेष्ठकै पालादेखि भएको थियो । तर, कार्यान्वयनमा भने घरि घरि समस्या आउने गरेको थियो । ‘एकातर्फी केही समय चल्थ्यो फेरि बन्द हुन्थ्यो । मेरो पालामा नगर बस पनि चलाउन थालिएको थियो । तर, लामो समय चलेन ।’
त्यो समयमा बाटोको मापदण्ड ५० फिटको बनाउने भनेर सङ्घर्ष पनि भएको उनी स्मरण गर्छन् । विवादका कारण कार्यान्वयनमा ल्याउन नसकेको उनी बताउँछन् । अहिले पनि ट्राफिक प्रहरीले पहाडी जिल्लाबाट आउने ठूला सवारी साधनलाई महेन्द्र पथको सडकबाट हिँड्न रोक लगाएको छ ।
तर, साना सवारी साधनलाई छुट दिइएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको कार्यकालको अन्तिम वर्षबाट ठूला सवारीलाई हिँड्न रोक लगाइएको हो । ‘एक वर्षजति नै भइसक्यो’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर श्यामकुमार बस्नेत भन्छन्, ‘म आउनुभन्दा अगाडि नै हो ।’
ठूला सवारीलाई एकातर्फी गर्दा पनि धेरै नै सहज भएको इन्स्पेक्टर बस्नेत बताउँछन् । अवकाशप्राप्त ‘धरानेको ट्राफिक दाइ’ कार्की अहिले चाहिँ एकातर्फी अतिआवश्यक रहेको बताउँछन् । उनले भने, ‘सवारी चालकका लागि पनि फाइदा हो, ट्राफिक प्रहरीका लागि पनि फाइदा हो । अहिले चाहिँ अतिआवश्यक छ ।’