धरान । प्रदेश १ बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला पुरुष दुवैमा गोल्ड मेडल जितेको छ ।

शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरीले मोरङलाई ६९–४२ अङ्कको अन्तरले पराजित गर्दै गोल्ड मेडल चुमेको हो भने मोरङले सिल्भर मेडलमा चित्त बुझायो ।

फाइनल खेलको प्रत्येक क्वार्टरमा सुनसरीले अग्रता लिँदै मोरङलाई पराजित गरेको थियो । खेलको प्रत्येक क्वार्टरमा सुनसरी र मोरङले १९–१८, १७–८, १७–११ र १६–५ अङ्क जोडेको थियो । खेलमा सुनसरीका हेमन्त राईले व्यक्तिगत १५ अङ्क जोडे ।

यसैगरी शनिबार नै ब्रन्ज मेडलका लागि इलाम र धनकुटाबीच भएको खेलमा इलामले धनकुटालाई ५९–४६ अङ्कको अन्तरले पराजित गर्दै ब्रन्ज मेडल हात पारेको छ ।  खेलमा इलामका रिजन श्रेष्ठले व्यक्तिगत २४ अङ्कको योगदान दिए ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीलगायतले मेडल र प्रमाण–पत्र वितरण गरेका छन् ।

धरान–१६ स्थित धरान रङ्गशाला कभर्डहलमा असोज ६ गते देखि ८ गतेसम्म बास्केटबल खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएका हुन् । महिलातर्फ सुनसरीले स्वर्ण, झापाले सिल्भर र मोरङले ब्रन्ज मेडल जितेका छन्  । यस छनौट प्रतियोगिताबाट प्रदेश १ बास्केटबल टिम छनौट गरिनेछ ।

छनौट भएका खेलाडीहरूले यही असोज २८ गतेदेखि पोखरामा हुने ९ औं राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ । यस छनौट प्रतियोगिताबाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री बाइ थ्रीका लागि ४ जना खेलाडी छनौट गरिनेछ ।