धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले पाँचवर्षे कार्यकालमा धनकुटाको विकासका लागि ३० अर्बभन्दा बढी बजेट ल्याएको दाबी गरेका छन् ।
आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद् राईले बिहीबार धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेका हुन् । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा ल्याउन सफल भएको सांसद् राईको भनाइ छ ।
राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) निर्माण प्रक्रिया थालनीदेखि प्रदेशकै नमुना विद्यालय निजामति आवासीय विद्यालय धनकुटाको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तारजस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको सांसद् राईले बताए । उनले अरुण करिडोर निर्माणका लागि ७ अर्ब बजेट विनियोजन गराउन सफल भएको बताए ।
उनले आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार बजेट ल्याएर योजना कार्यान्वयन गरिएको बताए । साथै आ.व. २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख र चालु आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट ल्याउन सफल भएको उनले बताए ।