सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिमको आयोजना गरिएको छ ।

शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत ६० दिने सिलाई कटाई तालिम सम्पन्न गरिएको कोसी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

शारीरिक रूपमा अशक्त भई बेरोजगार भएर बसेका महिलाहरुलाई लक्षित गरेर सिलाई कटाई तालिम आयोजना गरिएको कोसी गाउँपालिका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए । तालिममा सहभागी भएका अपाङ्गता भएका व्यक्ति वा त्यस्ता परिवारको सदस्यहरूलाई लाभग्राहीको ५० प्रतिशत लागतमा १३ जनालाई मेशिनसमेत वितरण गरिएको थियो ।

अपाङ्गता भएका व्यक्तिरूलाई मेसिन हस्तान्तरण गर्दै  कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले ६० दिने सिलाई कटाई तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने उपयोगी सावित हुने बताइन् । 

कोसी गाउँपालिका क्षेत्रमा रहेका अपाङ्गता भएका महिलाहरुलाई स्वरोजागर बनाउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरिएको र यस्ता तालिमलाई भविष्यमा समेत निरन्तरता दिइने उनको भनाइ छ ।

उक्त तालिममा  विनिता कुमारी मेहता, पुनिता राय, शान्तिकुमारी यादव, पिंकी, पंडित, पिंकी यादव, रुपरेखा कुमारी यादव, खुश्बु यादव, रुना साहलगायतको सहभागिता रहेको थियो ।