धरान । ब्लाष्टका पूर्व सम्पादक रहिसकेका आनन्द श्रेष्ठ प्रेस काउन्सिल विधागत पुरस्कारबाट पुरस्कृत भएका छन् ।

धरानलाई कार्यक्षेत्र बनाई लामो समयदेखि पत्रकारिता गर्दै आएका श्रेष्ठलाई प्रेस काउन्सिल नेपालले विधागत पुरस्कारबाट पुरस्कृत गरेको हो । उक्त पुरस्कारको राशि १० हजार रुपैयाँसहित सम्मान–पत्र रहेको छ । पत्रकार श्रेष्ठ पछिल्लो समय पत्रकारिताभन्दा बढी वातावरणको क्षेत्रमा क्रियाशील छन् ।

विधागत पुरस्कार प्राप्त गर्नेमा जीवनकुमार पराजुली र विजयरत्न तुलाधर पनि रहेका छन् । प्रेस काउन्सिलले विभिन्न विधामा हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

यसपटक प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट हरिबहादुर थापालाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झपाका माधव विद्रोहीलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।