लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

विराटनगरमा विभिन्न वडामा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा आज छलफल गर्न आयोजित कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

 विराटनगर महानगरपालिकाका कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा प्रभावितका लागि महानगरले लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको जानकारी दिए  । उनले कोष सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइसकेको र  महानगरका सबै वडामा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

 युएनएफपीए, आइपास, एबिसी नेपालसँगको सहकार्यमा महानगरले विराटनगरका पाँचवटा वडामा लैङ्गिक हिंसाका क्षेत्रमा काम गर्दै आएको  महानगरको महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमालले जानकारी दिए।

युएनएफपीएकी कार्यक्रम संयोजक कृति थापाले प्रदेशमा मोरङ, उदयपुर र ओखलढुङ्गाका नौ स्थानीय तहमा काम गर्दै आएको बताए । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, कोकनकी प्रमुख मञ्जिता उपाध्याय, आइपासका महेन्द्र महतो, महानगरका दुर्गाप्रसाद खतिवडा, स्वास्थ्य महाशाखा प्रमुख डा विशालकुमार देव, अधिवक्ता कोशराज न्यौपाने, कोसी अस्पतालकी कृति गुप्तालगायतले लैङ्गिक हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।