धरान । धरानमा शेयर बजारसम्बन्धी एक दिने ‘लगानी, व्यवहार र बजार गतिशीलता’ बारे तालिम दिइएको छ ।

धरान जेसीजको आयोजना र एबीसी सेक्युरिटिजको सहकार्यमा शनिबार तालिम दिइएको हो । धरानको होटल पूर्वी स्टारमा आयोजित तालिममा शेयर बजारमा लगानी गर्दै आएका १ सय १० जना शेयर लगानीकर्ताहरू सहभागी रहेका थिए ।

तालिमको सहजीकरण एबीसी सेक्युरिटिजका कार्यकारी प्रमुख नितेशकुमार अग्रवालले गरेका थिए । कार्यक्रममा शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष र बजारको गतिशीलतालाई बुझ्न आवश्यक रहेको सहजकर्ता अग्रवालले बताए ।

धरान जेसीजका अध्यक्ष प्रतीक श्रेष्ठले शेयर बजारमा लगानीकर्ताहरू बढिरहेकाले उनीहरूलाई शिक्षा दिने अभिप्रायले कार्यक्रम गरिएको बताए । एबीसी सेक्युरिटिज धरान शखा प्रमुख योगेशकुमार अग्रवालले शेयर लगानीकर्ताहरूलाई बजारको गतिशीलताबारे बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज श्रेष्ठ रहेका थिए । राउन्ड टेबल धरानको सहयोग रहेको थियो ।