भोजपुर । इष्टर्न हाइड्रोपावर लिमिटेड भोजपुुरले भदौ ७ गते देखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

आयोजनाबाट असर पर्ने जिल्लाका स्थानीय बासिन्दाका लागि सेयर निष्कासन तथा बिक्री खुला गरिने भएको हो । प्रतिकित्ता १ सयका दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न लागिएको लिमिटेडले जनाएको छ ।

भोजपुर जिल्लाका स्थानीय स्थायी बासिन्दाका लागि आगामी भदौ २१ गते सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे असोज ५ गते सम्म न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने ब्यावस्था गरिएको छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको हो ।

लगानी कर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणाली मार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने भएका छन् ।

जिल्लामा रहेका एनएमबि बैङ्क, ग्लोबल आइएमई बैङ्क, प्रभु बैङ्कको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैङ्कको भोजपुर शाखा कार्यालयबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।