भोजपुर: प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेश नामाकरणको विषयमा नेकपा एमाले संवेदनशिल रहेको बताएका छन् ।

मंगलबार प्रेस चौतारी नेपाल भोजपुरले आयोजना गरेको पत्रकार सम्मलेनमा पूर्व मुख्यमन्त्री राईले प्रदेश १ को नामाकरण गर्ने बिषयमा एमाले संवेदनशिल रहेको बताएका हुुन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका उन्ले प्रस्तावित सबै नामको विषयमा छलफल गर्न एमाले तयार रहेको बताए । छोटो समयमा भएपनि सहमतिका आधारमा प्रदेशको नाम राख्न एमाले तयार रहेको राईको भनाइ छ ।

गृह जिल्ला भोजपुर आएका उन्ले अहिले उठेका किरात, कोशी किरात, सगरमाथा, विजयपुर, सप्तकोशी वा अन्य सबै नामको विषयमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको दावी गरे ।

उनले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गर्न पहल गरेपनि दलहरु बीच उत्पन्न भएको किचलोको कारण नाम राख्न नसिकएको ठोकुवा गरे । राईले भने ‘‘म मुुख्यमन्त्री हुदा नामाकरण गर्न धेरै प्रयास गरे , दुई तिहाई बहुमत पनि थियो तर नाम मात्रको , बहुमतका आधारमा नामाकरण गर्न सत्तामै भएका साथीहरुले साथ नदिएपछि नामाकरण गर्न सकिएन , नामाकरणको विषय मैले मात्र चाहेर पुरा हुने विषय थिएन ।’’

अहिले मुख्यमन्त्री राजेन्द्र राईको कारण प्रदेश नामाकरणको विषय पेचिलो बन्दै गएको उन्ले बताए । मुुख्यमन्त्री राईको कारण प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकाले प्रदेशको नामाकरण हुन नसकेको उनको बुझाई छ । मुख्यमन्त्रीले आफ्नो हट नछाडेको र आफुले चाहेको बाहेक अन्य कुनै पनि प्रस्तावित नामका बारेमा छलफल गर्न नचाहेको राईको आरोप छ ।