पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा  सडक  स्तरोन्नति सुरु भएको छ  । प्रदेशको सरकारको  कूल रु  छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो । 

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज  कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म  यो सडकखण्डको निर्माण  सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम  शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो । 

वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि  काम सुरु भएको  छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको  योजना अघि बढाइएको हो ।  

पालिकाबाटै अनलाइन फाराम 

सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा  पनि सम्बन्धित पालिकास्तरबाटै  राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम  निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम  जिल्लाका सबै  पालिकाबाट निःशुल्क रुपमा  भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी  कृष्णबहादुर कटुवालले जानकारी दिए  ।  

सो सेवा लिन सेवाग्राही  सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम  भरेर मात्र जिल्ला प्रशासन कार्यालय  वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ ।  यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र  पैसा बचत हुने जनाइएको छ  । 

परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट  जनताहरुले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर  दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो ।  यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम  निःशुल्क रुपमा भर्ने व्यस्थापन मिलाइसकेको थियो । 

भोजपुरी पुस्तक  विमोचन

मधेस प्रदेशका मुख्यमन्त्री  लालबाबु राउतले भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित ‘अब सुतल ठीक नइखे’ (गजल सङ्ग्रह) र ‘हिरोशिमा’ (हाइकू सङ्ग्रह) पुस्तकको शनिबार विमोचन  गरे  । सो अवसरमा उनले प्रदेश सरकार प्रदेशभित्र बोलिने सबै भाषाको विकास   र प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए  ।

नेपाल भोजपुरी समाज वीरगञ्जद्वारा आयोजित  सो कार्यक्रममा विमोचित पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्ति माथि वरिष्ठ साहित्यकार एवं उद्योगपति गणेश लाठले प्रकाश पारेका थिए  । ‘अब सुतल ठिक नइखे’ गजल सङ्ग्रहमा गुप्ताका ५१ गजलहरु सङ्ग्रहित  छन् भने ‘हिरोशिमा’ हाइकू सङ्ग्रहमा दुई सय एकवटा हाइकू समावेश गरिएको हो । सङ्ग्रहमा राजीतिकदेखि समाजिक तथा शृङ्गार रसमा आधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए  ।