क्यानबेरा(अष्ट्रेलिया) अष्ट्रेलियाको क्यानबेरास्थित डिक्सन डिष्ट्रिक खेल मैदानमा आगामी अगष्ट २८ मा एक दिवसीय टी १० क्रिकेट च्याम्पियनशिप प्रतियोगिता हुने भएको छ । 

एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा बुद्ध नेप्लिज क्रिकेट क्लबको आयोजनमा हुने सो प्रतियोगिता एभरेष्ट कप २०२२ को नामले प्रतिष्पर्धा हुने कुरा आयोजकले बताएको छ । सो प्रतियोगितामा बंगलादेशी, श्रीलंकन, पाकिस्तानी, नेपाली, सिड्नी लगायतका ८ क्रिकेट क्लबहरु सहभागी हुने भएकोले अत्यन्तै रोमाञ्चकारी खेल हुने बताइएको छ । 

एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजकका रुपमा रही खेल जगतलाई हौसला दिएको बुद्ध नेप्लिज क्रिकेट क्लबका अध्यक्ष कृष्ण सुवेदीले बताए । सो प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न स्थानहरुबाट खेलप्रेमी दर्शकहरुको उल्लेखीय उपस्थित हुने र सो खेलको दौरानमा नेपाली खानाको स्वाद लिन पाइने समेतको व्यवस्था गरिएको क्लबका  क्याप्टेन अर्जुन केसीले बताए ।

नेपाली खानाको व्यवस्थापन र प्रायोजन द टेष्ट अफ हिमालय र लेक साइड रेष्ट्रोका साथै सह प्रायोजनका लागि र्याशिज ( Rashys)  ले पनि सहयोग गर्ने केसीले  बताए । अध्यक्ष सुवेदीका अनुसार यो खेल एशियाली तथा अष्ट्रेलियाली क्लबहरुका बीच भाइचारा सम्बन्ध स्थापित गर्ने कोशेढुंगाका रुपमा रहने विश्वास ब्यक्त गरे ।  खेल जगतमा हौसला प्रदान गर्दै आएको एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रमुख राजेन्द्र खड्का र अशोक बस्नेतले नेपाली खेलप्रेमी लगायत अन्य मुलुकहरुबीचमा मित्रता र सौहाद्रता बढ्ने भएकोले आफूहरु उत्प्रेरणाका लागि जहिले पनि सकारात्मक रहेको बताए । 

प्रतियोगितामा प्रथम हुनेलाई १ हजार ५ सय डलर र ट्रफी लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिने कुरा क्लबका कोषाध्यक्ष गोविन्द खरेलले बताए । साथै सो खेलले युवा खेलाडीहरुलाई खेल जगतमा चिनाउने मौकाका रुपमा पनि यो प्रतियोगिता गर्न लागिएको र यस्तो प्रतियोगितालाई निरन्तरता दिंदै जाने क्लबका प्रबन्धक सन्तोष धामीले बताए ।