भोजपुर। बर्षातका कारण बाटो हिलाम्मे भएपछि भोजपुर–दिङ्ला सडक स्तरोन्नतीको काम शुरु गरिएको छ ।

जिल्लाको षडानन्द नगरपालिकाले भोजपुर–दिङ्ला जोड्ने मुख्य सडकको स्तरोन्नतीको काम शुरु गरेको हो । दिङ्ला भोजपुर ३९ किलोमिटर कच्चि सडकमा खसेका पहिरो हटाउने , खाल्डा खुल्डी पुर्ने लगाएत स्तरोन्नतीको काम भैरहेको छ ।

नगरपालिकाको जेसिबि, ट्रयाक्टर सहित जनप्रतिनिधि, कर्मचारी र नगरप्रहरीले सडक मर्मतको काम गरिहेको मेयर सुरेन्द्र उदासले बताए । नगरपालिकाको सडक मर्मत संभार अन्र्तगतको बजेटबाट काम भैरहेको हो ।

बर्षायाममा ४ पाङ्ग्रे सवारी साधन चल्न सक्नेगरि सडक स्तरोन्नतीको काम थालिएको मेयर उदासले जानकारी दिए । जनतालाई सदरमुकाम आउन जान सहज होस भनेर सडक स्तरोन्नती भैरहेको नगरपालिकाकी उपमेयर प्रमिला राईले बताईन ।

सडक मर्मत भएपछि विरामी, ज्येष्ठ नागरीक , यात्रुका साथै सदमुकामका सम्बन्धित कार्यालयमा काम गर्न आउने सेवाग्राहीलाई समेत आवाज जावत गर्न सहज हुने उपमेयर राईको विश्वास छ । 

यसैबिच उद्योग वाणिज्य संघ दिङ्ला शाखाले सडक मर्मतका लागि एक दिन श्रमदान गरेको छ । दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा पदाधिकारी सहित सदस्यहरुले सडक मर्मतमा श्रमदान गरेका हुन । मर्मत कार्यमा विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता ,समाजसेवी, जनताप्रतिनिधी र स्थानिय जनताको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।