धरान । किरात याक्थुङ चुम्लुङ जापान पत्रकारिता पुरस्कार–२०२२ बाट जापानमा सक्रिय पत्रकार आनन्द कोइराला सम्मानित भएका छन् ।

सिसेक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसै वर्ष सुरु गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येनसहित सम्मान गरिएको हो । यस्तै सोही अवसरमा जनजाति पत्रकार महासङ्घ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत सो अवसरमा नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसी उपमहासचिव ओम गुरुङ तथा किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष सुदीप पालुङ्वाले संयुक्त रूपमा पत्रकारद्वयलाई सम्मान गरेका थिए ।

जापानको राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, संस्थाका अध्यक्ष, संस्थापक अध्यक्ष रिद्दीबहादुर तुम्वाहाम्फे, जनजाति महासङ्घ जापानका अध्यक्ष सञ्जीव चाम्लिङ राई, मगर सङ्घ जापानका अध्यक्ष ओम काउछा मगर, तमु धीँ जापानका उपाध्यक्ष चित्र गुरुङ, पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका सचिव भूवन निरौला, किरात राई यायोक्खाका उपाध्यक्ष प्रमिला राईलगायत अतिथिहरूले संयुक्त रूपमा स्मारिका विमोचन गरेका थिए ।

यसैगरी लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैंतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वा?सो’ (च्याब्रुङ स्तम्भ) निर्माण गरेको विषयमा विशेष जानकारी गराइएको थियो ।