धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन धरानमा क्रियाशील राजनीतिक दलहरूले सामूहिक रूपमा पहल सुरु गरेका छन् ।

हालसम्म भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले जग्गा अभावमा आफ्नो कार्यालय भवन निर्माण गर्न नसकेको र धरानमा जग्गा उपलब्ध हुन नसक्दा कार्यालय अन्यत्र सर्न सक्ने देखिएको भन्दै धरानका राजनीतिक दलहरूले पहल थालेका हुन् ।

जग्गा व्यवस्थापनका लागि नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त रूपमा पहल गरेको काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।

दलका स्थानीय नेताहरूले प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे र जिल्ला ट्राफिक कार्यालय, सुनसरीका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतसँग भेट गरी पहल सुरु गरेका हुन् । दलहरूको प्रतिनिधि मण्डलले ट्राफिक कार्यालय राजमार्गमा हुँदा उत्तम हुने भएकाले धरानको तीनकुनेस्थित वनको जग्गा दश कठ्ठा उपलब्ध गराउन मन्त्री घिमिरेसमक्ष माग गरेका छन् ।

मन्त्री घिमिरेले पनि दलहरूको मागप्रति सहमति जनाउँदै यथाशक्य जिल्ला ट्राफिक कार्यालयको निवेदन, लाङ्घाली सामुदायिक वनको सहमति र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश गर्न भनेको काङ्ग्रेसका क्षेत्रीय सभापति तामाङले बताए ।

त्यसैगरी जिल्ला ट्राफिक कार्यालयले पनि दलहरूसँगको भेटपछि धरान उपमहानगरपालिकालाई वातावरणीय प्रभाव मूल्याङ्कनका लागि र लाङ्घाली सामुदायिक वनलाई सहमतिका लागि पत्राचार गरेको छ । दलहरूले पनि धरान उपमहानगरपालिका, लाङ्घाली सामुदायिक वन र इलाका तथा जिल्ला वन कार्यालयसँग अविलम्ब समन्वय गर्ने जनाएका छन् ।

प्रतिनिधि मण्डलमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति तामाङ, प्रदेश १ (१) का सभापति अनिल श्रेष्ठ र नगर सभापति श्याम पोखरेल, नेकपा (एमाले)का नगर अध्यक्ष हर्कराज एभेङ र नगर उपाध्यक्ष पारस काङ्माङ, नेकपा (माओवादी केन्द्र)का नगर इन्चार्ज चोत्लुङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बू र नेकपा (एकीकृत समाजवादी) पार्टीका नगर अध्यक्ष रेवतीरमण राई रहेका थिए ।