भद्रपुर । बलात्कारको बयान दिन प्रहरी कार्यालय पुगेकी बालिकामाथि महिला प्रहरीले नै दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । झापा अर्जुनधारा नगरपालिका–७ की १५ वर्षीया बालिकालाई इलाका प्रहरी कार्यालय अनारमनीकी प्रहरी हवल्दार पूजा प्रसाईंले दुरव्यवहार गरको आरोप लगाएका हुन् ।

बालिका बलात्कारको जाहेरी दिन बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी पुगेकी थिइन् । पाँच महिनायता छिमेकी ५० वर्षीय मेचे थरका पुरुषले बलात्कार गरेको भनेर आफन्तलाई लिएर प्रहरीसमक्ष पुगेकी बालिकामाथि हवल्दार प्रसाईंले सोधपुछका नाममा दुव्र्यवहार गरेको आफन्तले बताएका छन् ।

मुद्दा फाँटमा उजुरी गर्न जाँदा महिला प्रहरीले ६ महिनासम्म किन नबोलेको ? लाटी हो कि क्या हो ? भन्दै दुव्र्यवहार गरेको आफन्तले बताए । उनीहरूले बालिकासँग फकाइफुल्याई बयान लिनुपर्नेमा महिला प्रहरीले धेरै नै थर्काएको जनाए । यसरी थर्काउँदा पीडित कसरी खुल्न सक्छन् र पीडितका आफन्तले भने । 

त्यस्तै, स्वास्थ्य परिक्षण गर्न लाने क्रममा प्रहरी हवल्दार प्रसाईँले, सुरुमा त नमज्जा भयो होला, तर पछि त मज्जा आयो होला नि होइन ?  पैसा, कपडा दियो होला भनेर दुव्र्यवहार गरेको उनीहरूको भनाइ छ ।

यता, अनारमनी प्रहरीका डिएसपी रुगमबहादुर कुँवरले सोधपुछका क्रममा प्रश्न सोध्दा अस्वाभाविक लागेको भए पनि प्रहरीको नियत त्यस्तो नरहेको बताए ।  सोधपुछमा त्यस्तो त भइहाल्छ नि उनले भने । उहाँहरूलाई अस्वाभाविक लागे पनि हाम्रो नियत त्यस्तो होइन उनले भने । उहाँहरूबाट सोधपुछ गर्नेक्रममा गल्ती भयो होला, तर हामी जानाजान त्यसो गर्दैनौं ।’

डिएसपी कुँवरका अनुसार पीडित बालिका गर्भवतीसमेत छिन् । विहीबार  स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा गर्भ देखिएको हो । स्थानीय विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी उनलाई सधैं निरास देखिएपछि शिक्षिकाले सोधपुछ गरेका थिए ।

शिक्षिकाले एकान्तमा लगेर सोध्दा आफू बलात्कृत भएको पीडितले सुनाएकी रहिछन्,’ डिएसपी कुँवरले भने, ‘त्यसपछि जाहेरी परेको थियो । स्वास्थ्य जाँच गर्दा गर्भवती रहेको देखियो । धेरै सोझी छिन्, घटनाबारे चुपचाप रहिछन् ।’बालिकाको आमा बितेको हुनाले उनी बुबासँगै बस्दै आएकी थिइन् ।

बुबा दिनभर काममा जाने हुनाले छिमेकीले गत वर्षको दसैंबाट नै उनलाई बलात्कार गर्दै आएको बताइएको छ । चैतदेखि उनको महिनावारी रोकिएको आफन्तले जनाएका छन् तर, उनले घर परिवारमा घटनाबारे सुनाएकी थिइनन् । डरत्रास वा प्रलोभनका कारण घटनाबारे नखुलेको हुन सक्ने डिएसपी कुँवरले बताए ।

विहीबार जाहेरी परेलगत्तै प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको छ । अनुसन्धानकै क्रममा रहेका कारण आरोपितको पहिचान खुलाउन नमिल्ने डिएसपी कुँवरले जानकारी दिए ।