भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पोषण विषेश कार्यक्रम शुरु भएको छ । प्रदेश सरकारको सहयोगमा नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई ध्यान दिदै गाउपालिकामा पोषण विषेश कार्यक्रम शुरु गरिएको हो ।

वालबालिकाको शारिरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र कुमार उपाध्यायले बताए । कार्यक्रम अन्तर्गत बच्चा जन्मे पछिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएत विषयमा तथ्याङ्क राख्ने र उनीहरुको स्वास्थ्यमा समस्या देखा परे गाउँपालिकाले उपचारको व्यवस्था गर्ने उनले जानकारी दिए ।

बालबालिकाको स्वास्थ्य अवस्थाका बारेमा आमालाई आवश्यक तालिम दिएर तथ्याङ्क राख्न आवश्यक उपकरण वितरण गरिने प्रमुख उपाध्यायले बताएका छन । यस्तै आमाले राखेको तथ्याङ्कको आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको मुख्य उदेश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वस्थ्य नागरिक उत्पादन गर्ने हो । यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका बालबालिकालाई प्रर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शुन्यमा झार्ने लक्ष्यका साथ कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

जसका लागि तीन÷तीन वडालाई समेट्ने गरि स्वास्थ्य संस्था समेत तोकिएको छ । कार्यक्रम सफल बनाउन बालबालिकाको मानसिक स्वास्थ्य बृद्धि अनुगमन र पोषण लेखाजोखा गरिने गाउपालिका अध्यक्ष राईले दावी गरे । अध्यक्ष राईका अनुसार प्रदेश १ मा पहिलो चरणमा छनौट भएका ५ वटा स्थानिय तह मध्ये पौवादुङमा गाउँपालिका पनि पोषण विषेश कार्यक्रमका लागि छनौट भएको हो ।

गाउपालिकामा पाइलोट प्रोग्रामको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । गाउपालिकाबासी जनताको स्वास्थ्यका लागि योजना बनाएर काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । कार्यक्रम उपलब्धि मुलक भएमा प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको छ ।