विराटनगर । मोरङ प्रहरीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । चालु आर्थिक वर्षको असार अन्तिम सातासम्म मोरङ प्रहरीले २७४ फरार अभियुक्त पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये विभिन्न अपारधमा संलग्न भइ फरार भएका २ सय ५१ पुरूष र २३ जना महिला प्रतिवादीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मध्ये फौजदारी कसुरका २ सय तीन र देवानी संहिता मुद्दाका ७१ जना फरार अभियुक्तलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याएको उनले बताए । प्रहरीले फरार अभियुक्त पक्राउ गरि २ सय ५९ वर्ष १० दिन कैद सजाय र ५४ लाख ५१ हजार ३ सय ६५ रूपैयाँ राजस्व असुली गरेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ ।
फरार पक्राउ पर्ने अभियुक्त कर्तब्य ज्यान, जवरजस्ती करणाी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न फरार अभियुक्त पक्राउमा प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ उनले भने, ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं ।
अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ गरिएको हो ।’ अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी कोइरालाले बताए ।
‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी कोइरालाले भने ।
हत्या गरेको १४ वर्षपछि अभियुक्त पक्राउ
मोरङ प्रहरीले हत्या गरेको १४ वर्षपछि एक जना जघन्य अपराधको अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्ने बेलबारी नगरपालिका १ का ३२ वर्षिय धर्मराज पोख्रेल रहेका छन् ।
पोख्रेलले २०६४ फागुन १५ गते मोरङ दुलारी १ का १६ वर्षिय मनोज राईलाई छुरा प्रहार हत्या गरेका थिए । हत्या गरेपछि तत्कालिन ईन्द्रपुर ३ सुकुम्बासी टोलाबाट फरार भएका पोख्रेललाई मोरङ अदालतले २०७३ फागु २२ गते २० बर्ष कैदको फैसला गरेको थियो । फरार रहेका पोख्रेललाई इलका प्रहरी कार्यालय बेलबारीले २०७८ भदौ १२ गते पक्राउ गरि अदालतमा उपस्थित गरेपछि अहिले कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।
यस्तै मोरङ प्रहरीले एकै दिन १० जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न भएका कारण दोषी ठहर भए पनि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्दा ३ वर्ष कैद र ५ लाख १२ हजार रूपैयाँ जरिवाना असुल भएको छ ।
चोरी मुद्दाका ४, लागुऔषधका २, विष्फोटक पदार्थ, जबरजस्ती करणी, सवारी ज्यान र बैंकिङ कसुर सम्बन्धी मुद्दाका १–१ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जरिवानाको फैसाल भएकासँग त्यसवापतको रकम असुल गरिएको छ ।