मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणामा जनकपुरधाम आइपुगेका छन्, पाँच प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीले आज बिहान जानकी मन्दिरमा सामूहिक पूजाआजा गरेका छन् ।

जनकपुरधाममा आयोजना हुन लागेको शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका कर्णाली प्रदेशबाहेक अन्य प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री,  सचिव तथा मुख्यन्यायाधिवक्ताको टोलीले जानकी मन्दिरमा पुगेर सामूहिक पूजाआज गरेका हुन् ।

जानकी मन्दिरमा पूजाआजा र दर्शन गर्न पुगेका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलसहितको टोलीलाई सो क्रममा मन्दिरमा उत्तराधिकारी महन्थ रामरोशन दासले प्रदेशका गृहमन्त्री तथा सचिव र मुख्यन्यायाधिवक्ताहरूलाई सम्मान गरे ।

उनहरुले  बुधबार साँझ जनकपुरधामस्थित गङ्गासागर पोखरी हुँदै आएको महागङ्गा आरतीमा सहभागी थियो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीराबहादुर शाहीलाई आमन्त्रणा गरिए पनि कार्यव्यस्थताका कारण आउन नसकेको जनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा आज जनकपुरधाममा आयोजना हुने सो कार्यक्रममा प्रदेशका गृहमन्त्री, सचिव र मुख्यन्यायाधिवक्ता सहभागी हुने मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ । आजै टोलीले जयनगर–कुर्था रेलमार्गमा चल्ने रेलमा जनकपुरबाट कुर्थासम्मको यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सो टोलीले भोलि यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र यसपछि उनिहरूलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।