सुनसरी । सप्तकोसी नदी हुँदै नेपाली गाँजा भारततर्फ तस्करी हुने क्रम रोकिएको छैन ।

पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा डुङ्गाको सहायताले सप्तकोसी नदी हुँदै भारततर्फ कटाउने गरिएको हो । यसैक्रममा सप्तकोसी नदी हुँदै भारततर्फ कटाइएको १ सय ९५ केजी गाँजासहित भारतीय एसएसबी ४५ औं बटालियन अन्तर्गत पिपराही बिओपीबाट खटिएको सुरक्षाकर्मीको टोलीले एकजना तस्करलाई नियन्त्रणमा लिएको छ ।

आइतबार राति भारतीय एसएसबीलाई २१२/४८ नम्बरको सीमा स्तम्भको पूर्वी कोसी तटबन्धको स्पर सङ्ख्या ८ दशमलव ७० किलोमिटरबाट कोसी नदीको बाटो भई ठूलो परिमाणमा नेपालबाट मदिरा तस्करी हुने गरेको गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाअनुसार परिचालित भारतीय एसएसबीले भने नेपालबाट डुङ्गामा लगिएको १ सय ९५ केजी गाँजासहित भारतीय नागरिक विजय मुखियालाई नियन्त्रणमा लिएको हो ।

को.१ ख २९९५ नम्बरको मिनी ट्रकमा लोड गरिएको १ सय ७५ केजी गाँजा १५ दिनअगाडि सुनसरीको नाका हुँदै भारततर्फ कटाउने प्रयास गरिए पनि सीमावर्ती क्षेत्रमा नेपाली सुरक्षाकर्मीले निगरानी बढाएको पाइएपछि उक्त गाँजा सप्तरी लगिएपछि सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

सशस्त्र प्रहरीको टोलीले अदुवामा लुकाएर मिनी ट्रकमा लाँदै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गस्थित सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट चेकजाँचको क्रममा ७ पोकामा १ सय ७५ केजी  गाँजा बरामद गरेको थियो ।

यस्तै केही महिनाअगाडि कोसी नदीको बाटो हुँदै लगिएको १ सय १० केजी गाँजासहित भारतीय एसएसबीले एकजना तस्करलाई नियन्त्रणमा लिएको थियो । तस्करहरूले पहाडी जिल्लाबाट गाँजा ल्याई भारततर्फ तस्करी गराउने उद्देश्यले सुनसरी, सप्तरी र उदयपुरको बाटो प्रयोग गर्दै आएका छन् ।

कोसी नदीको फाइदा उठाउँदै पहाडी जिल्लाबाट ल्याई भारततर्फ गाँजा तस्करी हुने गरेको हो । कोसी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरी गाँजा भिœयाउने र सुनसरी हुँँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको छ ।

नौ महिनामा ६ सय ७८ केजी गाँजा बरामद
खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबार पूर्णरूपमा रोकथाम गर्न चुनौतीपूर्ण देखिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईं बताउँछन् ।

सशस्त्र प्रहरीले जिल्लाका विभिन्न क्षेत्रबाट नेपाल प्रहरीसँग संयुक्तरूपमा १ सय ८० केजीसहित चालु आर्थिक वर्षको असोज ७ गतेदेखि हालसम्म ६ सय ७८ केजी ३२ दशमलव एक ग्राम बराबर गाँजा बरामद गर्न सफल भएको उनको भनाइ छ ।

सुनसरीको सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समयमा सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेपछि खुल्ला सीमाको फाइदा उठाएर गाँजा कारोबार गर्ने कारोबारीहरू पक्राउ पर्ने क्रम बढेको देखिन्छ । यद्यपि कडा सुरक्षा निगरानीका बीच पनि यस्ता कारोबार भने रोकिएको छैन ।