विराटनगर ।  मोरङ जहदा गाउँपालिका– २ मझारेमा जन्तीमाथि सामुहिक आक्रमण भएको छ । आक्रमण परी बेहुला पक्षका तीन जना जन्ती घाइते भएका छन् । 

घाइते हुनेहरूमा जन्ति आएका मोरङ्ग सुनबर्षी नगरपालिका ९ डाईनिया का २३ वर्षिय  मिथिलेश झा, सोही ठाउँका २४  वर्षिय रोहित सिंह गन्गाई मण्डल र २४  वर्षिय प्रकाश साह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनीहरु सुनवर्षी नगरपालिकाबाट बेहुली लिएर मंगलबार बिहान ३ बजे घर जाने क्रममा जहदा गाउँपालिका २  बुदन गन्गाई मण्डलको घरमा आक्रमण भएको थियो । उनीहरु डाईनियाबाट जन्ती आएर बेहुली लिएर जाने क्रममा जहदा २ स्थित मझारेमा स्थानिय  २३ वर्षिय बिकास मण्डल गन्गाई, ४०  वर्षिय श्याम यादव, २० वर्षिय धिरज मण्डल गन्गाई, २२ वर्षिय दिपक पासवान, २२ वर्षिय विश्वजित मण्डल गन्गाई, २० वर्षिय  दिपेन मण्डल गन्गाई समेतको समूहले एक्कासी जन्तीमाथि आक्रमण गर्दा जन्ती पक्षका तीन जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएकाहरुको स्थानिय अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । 

कुटपिट गरेपछि जन्ती पक्षका को १८प ७५४१ नं. को १ थान मोटरसाईकल पनि जलाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले जन्तीमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । मोरङ जहदा गाउँपालिका वडा नं.–२ का २३ वषिय बिकास मण्डल गन्गाई र मोरङ कटहरी गाउँपालिका वडा नं.–२ कदम गाछीका ४० वर्षिय  श्याम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अरु फरार छन् । उनीहरूको पनि खोजी कार्यभइरहेको छ ।’