सुनसरी । जिल्ला समन्वय समिति सुनसरीले भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका विभिन्न विकास योजनाहरूको अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको नेतृत्वमा आइतबार सो गाउँपालिकामा सङ्घीय, प्रदेश र स्थानीय तहबाट सञ्चालित विभिन्न विकास योजनाहरूको अनुगमन गरिएको हो ।

भोक्राहा गाउँपालिकाको निर्माणाधीन अवस्थामा रहेकोे प्रशासकीय भवनलगायतका योजनाको अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेहताले पारदर्शी र गुणस्तरीय तवरबाट जनताको अपेक्षाअनुसार परिणाम दिने हिसाबले काम गर्न आग्रह गरे ।

इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका मेहताले विकास निर्माण कार्य गर्दा कमसल र गुणस्तरहीन सामग्रीको प्रयोग गरेर काम गरिएको पाइए तत्काल त्यस्ता ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

भर्खरै निर्वाचित भएर आएका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद नेतृत्वका जनप्रतिनिधि र कर्मचारीलाई गाउँपालिका क्षेत्रमा सञ्चालित योजनाहरू कडाइका साथ अनुगमन गर्दै समयमै सम्पन्न गर्न जिसस प्रमुख मेहताले सुझावसमेत दिए ।

साथै विकास निर्माण कार्य गर्दा कुनै पनि बहानामा नागरिकले दुःख पाउन नहुने बताउँदै उनले जनताको अवस्था परिवर्तन गर्ने उद्देश्यले काम गर्न सुझाव दिएका थिए ।

अनुगमनमा जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, प्रशासकीय अधिकृत त्रिलोचन न्यौपाने, लेखा अधिकृत रमेश भट्टराई, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी उराँवलगायतका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।