बिर्तामोड । आफूमाथि दुव्र्यवहार गरेको भन्दै भारतीय नागरिकको योजनाबद्ध हत्यामा संलग्न रहेको आरोपमा झापाको अर्जुनधाराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

भारतको गुजरात घर भएका ४० वर्षीय जापाडिया नरेशकुमार बाबु भाइको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले झापाबाट तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । नरेशकुमारको शव असार ६ गते साँझ ६ बजे झापाको अर्जुनधारा नगरपालिका–४ स्थित सडकको कल्भर्टमुनी फेला परेको थियो । बोरामा हालेर फ्यालिएको अवस्थाको शव गन्हाउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा उनी भारतीय नागरिक भएको पुष्टि भएको थियो ।

प्रहरीले भारतीय नागरिक नरेशकुमारको हत्यामा संलग्न अभियुक्त खोजतलास गर्ने क्रममा सोही नगरपालिका–७ घर भएका दुई र सुनसरीको वराहक्षेत्र नगरपालिका–१० घर भएका १ जना पक्राउ परेका हुन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले अर्जुनधाराका जानुका सुवेदी थापा सोही ठाउँका विनय भनिने वृखबहादुर थापा र वराहक्षेत्रका सुरेश परियारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तिमा हत्याको प्रमुख कारण जानुका र नरेशकुमारको सम्बन्ध रहेको उल्लेख छ । घटनाअनुसार २०७६ सालमा जानुका रोजगारको सिलसिलामा भारतको नयाँ दिल्ली गएकी थिइन् । त्यहाँ २ महिना बसेपछि उनी गुजरात गइन् । त्यहाँ लगभग दुई महिनाको बसाइमा उनीसँग मृतक नरेश कुमारको परिचय भएको प्रेस नोटमा उल्लेख छ । जानुकासँग नजिकिएका उनी पटक–पटक नेपाल आएका थिए ।

सोही सालको चैतमा मृतक नरेश कुमारले जानुकाको छोराछोरीका लागि खेलौना तथा लत्ताकपडाहरू समेत ल्याइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । व्यवसायको क्रममा मृतक पटक–पटक मोरङको विराटनगर आउने गरेको अभियुक्त जानुकाले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ । मृतकले सोही समयमा जानुकालाई घर निर्माणका लागि भन्दै ५ लाख रुपैयाँ पनि उपलब्ध गराएको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार २०७९ साल वैशाखमा मृतकले जानुकालाई दिन ल्याउँदै गर्दा ५९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका थिए ।

विराटनगरमा पक्राउ परेका उनी धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । मृतक नरेश कुमार उक्त मुद्दाको तारेखमा आउँदा जानुकाको घरमा बस्ने गरेको समेत पोखरेलले बताए । जेठ महिनामा उनको घरमा बस्दा जानुकामाथि दुव्र्यवहार गरेपछि जानुका र उनका श्रीमान् विनयले नरेश कुमारलाई मार्ने योजना बनाएको खुलेको छ । पछिल्लो समयमा असार ७ गते नेपाल आएका उनी तीन दिन जानुकाको घरमा बसेको पनि खुलेको छ । मृतक नरेश कुमार ९ गते सुनसरीको इटहरी तारेखमा गएर उनकै घरमा आएर बसेको प्रहरीको अनुसन्धानले देखाएको छ । नरेश कुमारलाई मारेर सधैँका लागि पन्छाउने योजना बमोजिम थापा परिवारले सुरेश परियार र हाल फरार रहेका अर्का एकजनाको सहयोग मागेका थिए । भारतीय नागरिक नरेश कुमारलाई मार्न ५ लाखको सुपारी दिने सहमति गरेर परियार र अर्का एकजना व्यक्ति सो दिन जानुकाको घरमा आएको प्रहरीले जनाएको छ ।

योजनाअनुसार असार ९ गते मृतक, सुरेश परियार र अर्का एकजना व्यक्तिले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । राति १० बजेसम्म मादक पदार्थ सेवन गरेपछि मृतक नरेश कुमार ‘बाहिर जान’ भन्दै बाहिर निस्किए । ढोकामा के पुगेका थिए, परियारले मुड्कीले घाँटीमा प्रहार गरेर लडाए । भूईंमा लड्दा उनी गमलामा ठोक्किएर अचेत भएका थिए । त्यही बेला परियारले मुख थुने भने अर्का एकजनाले मार्तलले निधार र टाउकोमा हानेर मारे–प्रेस नोटमा उल्लेख छ । घटनापछि शव बोरामा हालेर विनय थापाले चलाउने गरेको मोटरसाइकलमा राखेर परियार र अर्का एकजनाले अर्जुनधारा–७ को कल्भर्टमा राखेर फर्किएको बयान पक्राउ परेका आरोपीले प्रहरीलाई दिएका छन् ।

काम सम्पन्न भएपश्चात्को सर्तअनुसार जानुकाले परियारलाई सुरुमा २५ हजार र पछि १ लाख ७५ हजार, अर्का व्यक्तिलाई १ लाख दिएको प्रहरीले जनाएको छ । ५ लाख रुपैयाँ दिने सर्त बमोजिम २ लाख रुपैयाँ दिन बाँकी रहेको प्रेस नोटमा उल्लेख छ । प्रहरीले घटनामा प्रयोग गरिएका हतियारलगायतका सामग्रीसमेत बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।