विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको लाखौं रूपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका एक जना कर्मचारी पक्राउ परेका छन् । सहकारीका कर्मचारी सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँका २४ वर्षीय विवेक खवास पक्राउ परेका हुन् ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई शनिबार पक्राउ गरेको हो । उनीमाथि ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । खवासले ३१ लाख रुपैयाँ हिनामिना गरेको स्वीकार गरे पनि सहकारीको आन्तरिक छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ ।

सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी खवासलाई सञ्चालक समितिले बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिको सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल थिए ।

प्रहरीसमक्ष नै उनले ३१ लाख रकम हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिनाको रकम तिर्ने सहमति भएको थियो । हिनामिनाको रकम बढ्दै गएपछि आरोपी भाग्ने डरले सहकारी सञ्चालक समितिले किटानी जाहेरी दिएको थियो । उनले १० लाख रुपैयाँ भने सहकारीलाई बुझाइसकेका छन् । पक्राउ परेका खवास विरुद्ध अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

विगत ५–६ महिनादेखि बचतकर्ताको रकम आफै नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको छानबिन समितिले जनाएको छ ।

सहकारीको ६ वटा सेवा केन्द्र छन् । सहकारीमा ८ हजार शेयर सदस्य छन् । सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ सहकारी संस्था २०७७ असार २९ गते मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार हुँदै आएको थियो ।