पाँचथर । पाँचथर जिल्लामा शुक्रबार राति गएको पहिरोको कारण घर बगाउँदा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का तीन जनाको शव फेला परेको छ ।

पहिरोमा परी बेपत्ता भएको ३७ घण्टापछि उनीहरूको शव फेला परेको हो । शुक्रबार राति सवा १० बजे पहिरो जाँदा फालेलुङ–७ का रूपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा घरधनी ४२ वर्षीय रूपलालको शव शनिबार बिहान ८ बजे फेला परेको थियो ।

पहिरोमा पुरिएर बेपत्ता भएका रूपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आइतबार बिहान ११ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी राकेश थापाले जानकारी दिए । योसँगै पाँचथरको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

पहिरो गएकै दिन शुक्रबार राति साढे १२ बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेका थिए । तर, आइतबार बिहानसम्म मात्रै स्काभेटरको सहयोगले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको थियो ।

रूपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको, छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापामा थिए । पहिरो गएका समय रूपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने बाँच्न सफल भएका थिए ।

घरदेखि करिब ३ सय मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताए । वर्षा हुनुभन्दा अघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ । पहिरो गएको क्षेत्र अत्यधिक वर्षा हुने क्षेत्र हो ।