बिर्तामोड । झापाका पेट्रोल पम्पहरूमा सिलसिलेवार चोरी गर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ का देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि चोरी र ज्यान मार्ने उद्योगमा समेत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । तामाङले झापाका ५ वटा पेट्रोल पम्पसहित ७ वटा व्यावसायिक प्रतिष्ठानबाट २० लाखभन्दा बढी नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले कमल गाउँपालिकाको गीता पेट्रोल पम्प, बिर्तामोड नगरपालिका–२ को आसमा पेट्रोल पम्प, कन्काई नगरपालिका–७ को गरमकाली पम्प, मेचीनगर–७ को प्रनिक आयल स्टोर, सोही नगरपालिका–१३ को मेट्रो ट्रेडिङ हाउसलगायतका पेट्रोल पम्प र मेचीनगर–७ को सनराइज सिमेन्ट प्रालि र सोही ठाउँको राधाकृष्ण इन्डष्ट्रिजमा चोरी गरेको झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए ।

तामाङले असार ५ गते सनराइज सिमेन्टको अफिस फुटाएर १ लाख ५० हजार रुपैयाँ चोरी गरेका थिए । सोही दिन रातको समयमा राधाकृष्ण इन्डष्ट्रिजको सिसी क्यामेराको तार चुँडाएर ४२ हजार नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

जेठ ३१ गते गीता पेट्रोल पम्पबाट नगद ५ लाख चोरी गरेका तामाङले असार ५ गते रातको समयमा प्रनिक आयल स्टोरको झ्यालको ग्रिल तोडफोड गरी नगद ६ लाख रुपैयाँ चोरी गरेको पोखरेलले बताए । जेठ ११ गते आसमा पेट्रोल पम्पबाट नगद ७ लाख ३६ हजार ८ सय ९६ रुपैयाँ आरोपी तामाङले चोरी गरेका थिए । सोही राति गरमकाली पम्पको काउन्टरबाट १५ हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असार १७ गते राति साढे १० बजे मेचीनगरको मेट्रो ट्रेडिङ हाउस नामको पेट्रोल पम्प तोडफोड गर्दै गर्दा आवाज आएपछि पम्पको माथिल्लो तलामा बसेका ट्याङ्कर चालकले थाहा पाएका थिए । ट्याङ्कर चालक किरण दाहाल, कर्मचारीहरू समिर मिश्र र देवेन्द्र चौहानले प्रतिकार गर्न खोज्दा फलामको रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

चौहानले तामाङलाई नियन्त्रणमा लिन खोज्दा उनले मिश्रमाथि पनि रड प्रहार गरेका थिए । घटनामा दुईजना घाइते भएपछि पुगेको प्रहरीले तामाङलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । तामाङमाथि ज्यान मार्ने उद्योग र चोरी अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।