मुढेशनिश्चरे (सङ्खुवासभा) । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–३ का २७ वर्षीय सङ्गम पौडेलको सवारी दुर्घटना परी दाहिने खुट्टामा गहिरो चोट लागेको छ । उनी बैसाखीको सहारामा हिँडडुल गर्दै आएका छन् ।

शनिबार घरदेखि नजिकै धर्मदेवी नगरपालिकाबाट १ सय मिटर उत्तरमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थाहा पाएपछि बुबा गोपालराज पौडेलको सहारामा उनी त्यहाँ पुगे । स्कुलको कक्षा कोठामा चिकित्सक बस्ने ठाउँ बनाइएको थियो । जहाँ थिए, विराटनगरस्थित न्यूरो हस्पिटलका अर्थोपेडिक सर्जन डा. अमित देव । उनले बिरामीको स्वास्थ्य अवस्था हेरेपछि उपचारमा लागे । एक्स–रे हेरेपछि खुट्टा फ्याक्चर देखिएन । दायाँ खुट्टाको घोडामा झण्डै आठ टाँचा लगाएको थियो । घाउ पाक्न लागेको थियो । घाउलाई सरसफाइ गर्ने विधि र औषधि डा. देवले  लेखिदिएपछि त्यहाँबाट बिरामी पौडेल र उनका बाबु गोपाल स्कुल परिसरमा राखिएको औषधि वितरण कोठामा पुगे ।

चिकित्सकले सिफारिस गरेको औषधि निःशुल्क पाएपछि हर्षित मुद्रामा बाहिर निस्किए । स्थानीयस्तरमा विशेषज्ञसहितको चिकित्सकको टोली आएर उपचारपछि निःशुल्क औषधि पाएपछि धर्मदेवी नगरपालिकाका स्थानीय खुसी भएको उनले बताए ।

‘न्यून आर्थिक अवस्थाका कारण पहाडी जिल्ला सङ्खुवासभाका बिरामी रोग पालेर बस्न बाध्य छन्’ स्थानीय गोपालराज पौडेलले भने, ‘नगरपालिका रहेको ठाउँ धर्मदेवीमा अहिलेसम्म प्राथमिक उपचार केन्द्र छैन । यहाँ एउटा स्वास्थ्य चौकी रहेको छ । त्यहाँ चिकित्सक छैनन् । एक जना नर्स छन् । हामीजस्तो विपन्नले खर्च गर्न सक्ने अवस्था पनि छैन ।’

स्थानीयस्तरमा भरपर्दो उपचार गर्ने अस्पताल नहुँदा यहाँका नागरिकले रोग पाल्नुपर्ने अवस्था रहेको छ । ‘धरान र विराटनगरमा उपचार गर्न जाँदा ठूलो धनराशि खर्च हुने गरेको छ । कोही बिरामी भएमा उपचार गर्न अस्पताल लानसक्ने अवस्था छैन’ उनले भने, ‘त्यही भएर यहाँका स्थानीयले यस्तै विभिन्न सङ्घ–संस्थाको सहयोगमा हुने स्वास्थ्य शिविरको भर पर्नुपर्ने अवस्था रहेको छ ।’

स्थानीय सरकार, प्रदेश र सङ्घले पहाडी जिल्लामा भरपर्दो स्वास्थ्य उपचारमा ध्यान नदिएकोप्रति यहाँका स्थानियको गुनासो रहेको छ । ‘संविधानमै व्यवस्था गरेको छ, स्वास्थ्य उपचार नैसर्गिक अधिकार भनेर । तर, पहाडी जिल्लामा रहेको ग्रामीण क्षेत्रका बिरामीको लागि राज्यले लगानी गरेको देखिँदैन’ उनले भने, ‘समयैमा उपचार नपाउँदा यहाँका स्थानीयले मृत्युवरण पनि गर्नुपर्ने अवस्था रहेको छ ।’

धर्मदेवी नगरपालिका–३ का वीरबहादुर सार्कीको पनि समस्या उस्तै छ । उनी पेट पोल्ने र खुट्टा झम्झम गर्ने नशाको समस्याबाट ग्रसित भएको वर्षौं भयो । वर्षौंदेखिको समस्यामा रहेका उनी आर्थिक अवस्था नाजुक भएको कारणले उपचार नगरी बसेका थिए । विशेषज्ञसहितको चिकित्सकहरू आउँदै गरेको पत्तो पाएपछि उनी पनि स्वास्थ्य शिविरमा आए । न्यूरो अस्पतालका न्यूरो सर्जन डा. आशिषजङ थापाले उनको स्वास्थ्य अवस्थाको जाँच गरेपछि औषधि दिए । ‘चिकित्सकले स्वास्थ्य जाँच गरेपछि औषधि पनि निःशुल्क पाए । यस औषधिले कतिको काम गर्ने हो । त्यो औषधि खाएपछि थाहा हुन्छ होला’ उनले भने, ‘यसरी आफ्नै गाउँघरमा एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य उपचार पाउँदा हामी एकदमै खुसी भएका छौं ।’

यसरी स्थानीयस्तरमा एकै ठाउँमा विशेषज्ञ चिकित्सकसहित ल्याएर उपचार गर्ने वातावरण छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गरिदिएको हो । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । शिविरमा न्यूरो अस्पतालका बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, अर्थोपेडिक सर्जन डा. अमित देव, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारी, न्यू्रो सर्जन डा. आशिषजङ थापा, डा. एमडी सिद्दिक, देवेश माझी, डा. सुमन पण्डितलगायतका स्वास्थ्यकर्मीहरूको टालीले धनकुटा र सङ्खुवासभाका धर्मदेवी नगरपालिकाभित्रका स्थानीय गरी पाँच सय २० जनाले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा आएकामध्ये सबैभन्दा बढी महिला बिरामीहरू थिए । पाठेघरको समस्या, सेतो पानी बग्ने, तल्लोपेट दुःख्नेलगायतका समस्या लिएर आएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निशा अधिकारीले बताइन् ।

चिकित्सकका अनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गह्रौं भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ । पहाडी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिलाहरू पाठेघरको समस्याबाट गुज्रने गरेको डा. अधिकारीले बताइन् । पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनले बताइन् । यस्तै स्वास्थ्य शिविरमा आएका बालबालिकाहरूमा रुघाखोकी, टन्सिल, झाडा बान्ता र पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहले जानकारी दिए । शिविरमा हाडजोर्नी, नशा, छालालगायत विभिन्न रोगका बिरामीहरूले स्वास्थ्य जाँच गराएका थिए ।

उनीहरूलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश १ का क्षेत्रीय प्रबन्धक रामनाथ महतोले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आफ्ना सदस्य र स्थानीयलाई लक्षित गरी पहाडी जिल्लाको विकट क्षेत्रका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको उनले बताए । ‘छिमेक लघुवित्तले देशका विभिन्न ठाउँहरूमा यसरी निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ’ उनले भने, ‘जहाँ विपन्न परिवारले सेवा पाएका छन् ।’ न्यूरो अस्पतालका निर्देशक रञ्जितराज बस्नेतले स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको पहाडी जिल्लाका ग्रामीण बस्तीका स्थानीयलाई लक्षित गरी छिमेक लघुवित्तसँग सहकार्य गरी स्वास्थ्य शिविर गरेको बताए । ‘पहाडी जिल्लाको ग्रामीण बस्तीमा सरकारी अस्पताल नहुनु दुर्भाग्य हो । साधारण चोटपट लागेका बिरामी टाढाका अस्पताल लैजानुपर्ने अवस्था रहेको छ । त्यही समस्यालाई महसुस गरी यहाँका स्थानीयलाई स्थानीय स्तरमा सेवा दिन हामीले शिविर गरेका हौं’ उनले भने, ‘यस्ता स्वास्थ्य शिविर र सचेतना न्यूरो अस्पतालले आगामी दिनहरूमा पनि गर्दै जानेछ ।’

कार्यक्रममा धर्मदेवी नगरपालिकाका प्रमुख उदयचन्द्र पौडेलले निजी क्षेत्रबाट स्थानीय स्तरमा निःशुल्क स्वास्थ्य शिविर गरेर सह्रानीय काम गरेको बताए । कार्यक्रममा धर्मदेवी नगरपालिका–३ का वडाध्यक्ष श्यामबहादुर पौडेल, उद्योग वाणिज्य सङ्घ धर्मदेवी नगरपालिका अध्यक्ष ऋषिकेशव चापागाईं, सिंहेश्वरी माविका व्यवस्थापन समितिका अध्यक्ष ख्याम खड्कालगायतले बोलेका थिए ।