धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं. १ हात्तीखर्कमा करेण्ट लागेर स्थानीय एक युवाको बिहीबार मृत्यु भएको छ ।

छथरजोरपाटी गाउँपालिका वडा नं. १ हात्तीखर्क मादीबुङका शम्भु सेरेङ लिम्बूको घरमा बिजुली बिग्रिएकाले बनाउने क्रममा करेण्ट लागेर स्थानीय युवा वर्ष २९ का लक्ष्मण सेरेङ लिम्बूको मृत्यु भएको हो ।

घटना बिहीबार बिहान १०.३० बजे घटेको प्रहरीले जनाएको छ । शम्भू लिम्बूको घरको विद्युत् बिग्रिएको भन्दै बनाउनको लागि बिजुलीको पोलमा चढ्ने क्रममा अचानक करेण्ट लागेर लक्ष्मणको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनापछि लिम्बूको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी एवम् प्रवक्ता चिरञ्जीवी दाहालले बताएका छन् ।