धनकुटा । गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा व्यापक मूल्य वृद्धि गरेर नेपाली जनतालाई ढाड सेक्ने काम गरेको भन्दै नेकपा एमाले नगर समिति धनकुटाले आइतबार विरोध प्रदर्शन गरेको छ । 

नेकपा एमाले नगर समितिको आयोजनामा धनकुटाको मदन चोकमा सयौँ नेता तथा कार्यकर्ता भेला भएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध चर्को नाराबाजी गर्दै धनकुटा बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका नेकपा एमाले नेता तथा कार्यकर्ताहरूले वर्तमान सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनता मारा काम गरेको भन्दै सरकारको गलत कार्यको विरोध गरे । 

नेकपा एमाले नगर समितिका अध्यक्ष अर्जुन छाराहाङ आठपहरियाको अगुवाइमा निस्किएको मूल्यवृद्धि विरुद्धको प्रदर्शनकारीहरूको जुलुस धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात् धनकुटा नगरपालिका वडा नम्बर ६ स्थित भिमनारयण चोकमा कोणसभा आयोजना गरिएको थियो । 

आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य उज्ज्वल किराँती, धनकुटा नगर समितिका अध्यक्ष अर्जुन छाराहाङ आठपहरियाले सम्बोधन गरेका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मुल्यवृद्धिसंगै यातायात भाडा अत्यधिक बढाएको, पाठ्यपुस्तक अभाव भएको,मलबिउ अभाव, खाद्यान्न अभाव, भ्रष्टचारबृद्धि भएको, औषधी उपचारमा मूल्यवृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वर्तमान गठबन्धन सरकारले तत्काल नघटाए एमालेले देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।