विजयपुर । धरान उपमहानगरपालिकामा पर्ने सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
धरान उपमहानगरको आयोजनामा वृक्षरोपण गरिएको हो । उपमहानगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघालगायतले वृक्षरोपण गरेका हुन् ।
प्रमुख राईले जलाधार क्षेत्रलाई संरक्षण गर्नका लागि वृक्षरोपण गरिएको बताए । उनले जलाधार क्षेत्रको सीमाङ्कन गरिने पनि बताए । उनले जलाधारलाई बचाउन जलाधार क्षेत्र प्रवेशमा रोक लगाउने विषयमा छलफल भइरहेको बताए ।
उनले वृक्षरोपण गर्दा दिवङ्गत भएका परिवारको नाममा गर्ने अभियान चलाउने बताए । ‘हामीले हाम्रा परिवार गुमाएका छौं, उहाँहरूलाई सम्झिएर वृक्षरोपण गरौं, त्यो फलदायी हुन्छ’–उनले भने । उपप्रमखु अइन्द्रविक्रम बेघाले वृक्षरोपण गरेपछि संरक्षण पनि गर्ने कार्यक्रम ल्याइने बताए ।
उनले भने, ‘रोपिसकेपछि संरक्षण गर्ने खालका कार्यक्रम ल्याउन उपमहानगरपालिका लाग्नेछ ।’ वृक्षरोपणमा उपमहानगरका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, धरानका विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू वृक्षरोपण कार्यक्रममा सहभागी थिए । वृक्षरोपणमा रोटरी क्लब, धरान जेसिजलगायतका सङ्घ–संस्थाको पनि सहभागिता थियो ।