धरान । याक्थुङ लिम्बू भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर (बीबी) मुरिङ्लाको ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपरान्ह गान्तोकस्थित न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाको निधन भएको हो । मुरिङ्लाको निधन मस्तिष्कमा रक्तस्रावका कारण भएको अस्पतालले जनाएको छ ।

सन् १९४२ मा पश्चिम सिक्किमको लिम्चोममा जन्मिएका मुरिङ्लालाई सन् २०१७ मा याक्थुङ भाषा र लिपिको विकास एवम् प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत भारत सरकारका तर्फबाट भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीबाट पद्मश्री सम्मानले विभूषित गरिएको थियो ।

उनलाई सन् २०१४ मा आसामको गुवाहटीमा विवेकानन्द केन्द्र इन्स्टिच्युट अफ कल्चर सम्मान, वि.सं.०५४ सालमा नेपालमा उदयकला पुरस्कारले पनि सम्मानित गरिएको थियोे । खासगरी सिक्किममा याक्थुङ भाषा र सिरिजङ्गा लिपिको उच्च तहसम्मको अध्ययनका लागि उनले विशेष नेतृत्व गरेका थिए । उनी भाषा, लिपि र व्याकरणसँगै गीत, सङ्गीत र गायनमा पनि उत्तिकै दक्खल राख्थे ।

उनले टासी नामग्याल एकेडेमीमा विद्यालय तहको अध्ययन गरेका थिए । पछि दार्जिलिङमा कलेज भर्ना भए । उनी सिक्किम राज्य सरकारमा मानव संशाधन विभागमा कार्यरत रही अतिरिक्त निर्देशक पदमा निवृत्त भएका थिए ।

करिब तीन दशकभन्दा बढी समय भाषा र लिपिका लागि जीवन अर्पण गरेका मुरिङ्लाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका लागि हातैले सिरिजङ्गा लिपिमा पुस्तक तयार पारेका थिए । उनले व्याकरणसँगै याक्थुङ–नेपाली–अङ्ग्रेजी शब्दकोश निर्माणमा पनि विशेष सक्रियता देखाएका थिए ।

उनले सन् १९८२ मा लेटर प्रेसका लागि र सन् १९९२ मा कम्प्युटरका लागि याक्थुङ लिपि विकास गरेका थिए । उनले सन् १९५२ मा दस वर्षको उमेरमा इतिहासकार इमानसिं चेम्जोङलाई भेटेका थिए ।

मुरिङ्लाले लेखेका ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ र ‘तुम् याक्थुङ निसिगेक् साप्ला’ लाई सिक्किम सरकारले याक्थुङ लिम्बू भाषाको अध्ययनका लागि मूल स्रोत पुस्तकहरूका रूपमा राखेको छ ।

सन् १९७५ मा छोग्याल वंशको शासनपछिको समयमा याक्थुङ भाषाको पाण्डुलिपि लेखकका रूपमा नियुक्त भएका थिए । सिक्किममा युमा माङ्हिम स्थापनामा पनि उनको महŒवपूर्ण भूमिका रहेको थियो ।