सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्ष घुम्न आएका एकजनाको मृत्यु भएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अकुवा बर्ड्स होटलमा साथीहरूसँग घुम्न आएका रामधुनी नगरपालिका–५ बस्ने अन्दाजी ३० वर्षका केसर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता नरेन्द्र कार्कीका अनुसार बिहीबार दिउँसो ३ बजेको समयमा साथीहरूसँग कोसीटप्पु घुम्न जाँदा लडेर घाइते भएका थापाको उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

युवती साथीसँग घुम्न आएका उनको प्रारम्भिक अनुसन्धानबाट लडेर ज्यान गएको भनिए पनि अनुसन्धानबाट यथार्थ कुरा बाहिर आउने सुनसरी प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको डिएसपी कार्कीले जानकारी दिए ।