धरान । युनिलिभर कम्पनीसँगको सहकार्यमा नेपाली सेनाले हिमाली क्षेत्रको फोहोर सङ्कलन गर्दै आएको छ ।
यसपटक ताप्लेजुङ जिल्लास्थित कञ्चनजङ्गा हिमालबाट १५ टनभन्दा बढी फोहोर सङ्कलन गरिएको जनाइएको छ । कञ्चनजङ्गामा हरेक वर्ष एक लाख ७५ हजार पर्यटक हिमाल पदयात्रा र आरोहणका लागि पुग्ने गरेका छन् ।
हिमाली पदयात्री साथै आरोहणकर्ताले छाडेका फोहोरहरू सङ्कलन गरी व्यवस्थापन गरिएको युनिलिभरले जनाएको छ । युनिलिभरले ‘सफा हिमाल अभियान–२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरका अनुसार गत वैशाख २ गतेबाट सुरु गरी जेठ १६ गतेसम्म सफाइ गरिएको थियो ।
टोलीले सफलतापूर्वक ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर सङ्कलन गरेको युनिलिभर नेपालले जनाएको छ । ४५ दिने अभियानको क्रममा कञ्चनजङ्घा हिमालबाट जम्मा १५.३७ टन फोहोर सङ्कलन भएको थियो । यस अभियानको क्रममा सङ्कलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरूको रूपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको छ ।