धरान । केन्द्रीय निर्देशनअनुरूप सत्तारुढ दलबीच चुनावी तालमेल वडा तहसम्मै हुनुपर्ने हो । तर, उक्त निर्देशन पालना भएन । केही पालिकामा ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भनी सहमति भए । 

धरानमा पनि प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरे पनि वडा तहमा भने मित्रवत प्रतिस्पर्धा गर्ने भनी सहमति गरेका थिए । तर, धरान–२० नम्बर वडामा भने त्यही मित्रवत प्रतिस्पर्धा कटुतामा परिणत भएको छ । धरान–२० को अन्तिम मतपरिणाम सुनाउनुपूर्व १८ वटा मतपत्रमा त्यहाँस्थित मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनका क्रममा पब्लिक हाईस्कुलको मतगणना स्थलमा लगाएको बार माओवादी कार्यकर्ताले तोडफोड गरेका थिए । 

280351538_1172055346667858_3453580102887952418_n

१८ वटा मतमध्ये ११ वटा मत वडाध्यक्षमा माओवादीबाट उम्मेदवारलाई परेको थियो भने ३ वटा नेकपा एमाले र ४ वटा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई परेको थियो । तर, निर्वाचन आचारसंहिता २०७८ को निर्देशिकामा मतदान स्थलका अधिकृतको हस्ताक्षरविनाको मतपत्रलाई बदर मानिने प्रावधान छ । वैशाख २९ गते निर्वाचन अधिकृतको कार्यालय धरानमा बसेको सर्वदलीय सर्वपक्षीय भेलामा पनि सबै राजनीतिक दलहरूले ‘मतदान अधिकृतको हस्ताक्षरविनाको मतपत्र भेटिएमा बदर मानेर जाने’ भन्ने भद्र सहमति बनेको नेपाली काङ्ग्रेसका सभापति श्याम पोखरेल बताउँछन् । 

तर, कार्यकर्ताले आन्दोलन गरेपछि माओवादी केन्द्र नगर समितिका अध्यक्ष सूर्यबहादुर भट्टराई र सचिव विदुर महतले विज्ञप्ति जारी गर्दै उक्त १८ वटा मतपत्रलाई सदर गर्नुपर्ने अन्यथा पुनः मतदान गर्नुपर्ने जनाएको छ । नेपाली काङ्ग्रेसले पनि मतगणना स्थलमा प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय धरानलाई अन्तिम घोषणा सार्वजनिक गर्न माग गरिरहेको छ । एकातिर माओवादी केन्द्रले सदर गर्नुपर्ने र अर्कातिर अन्तिम घोषणा सार्वजनिक गर्नुपर्ने मागका कारण मतगणना स्थगित हुन पुगेको छ ।

278874405_744890623350962_8758063777153150221_n

यसले गठबन्धन दलहरूबीच नै तिक्तता सुरु भएको देखिएको छ । काङ्ग्रेस सभापति पोखरेल भन्छन्, ‘हाम्रोतर्फबाट मित्रवत भावना नै छ । हामी मित्रवत नै लडेको हो । स्वीकारे जाऔं भनेर माओवादी साथीहरूलाई भने । उहाँहरूले पनि कार्यकर्तालाई थाम्न नसकेको अवस्था हुन सक्छ । मित्रवत भावना चोट पुगेको छैन ।’ धरान–२० विष्णुपादुका मतदान स्थलको मतगणना गर्दा यस्तो समस्या आएको हो । त्यहाँका मतदान अधिकृतलाई विभागीय कारबाही गर्नका लागि निर्वाचन अधिकृतको कार्यालयले सिफारिस गर्ने निर्णय भएको छ । यो समस्या मतगणना हुँदै गर्दा मङ्गलबार पनि आएको थियो । ४ वटा मतपत्र हस्ताक्षरविनाको परेको थियो । जहाँ नेपाली काङ्ग्रेसका वडाध्यक्षलाई मत परेको भए पनि काङ्ग्रेसले वैशाख २९ गतेको निर्णयलाई स्वीकार गरेर गएको सभापति पोखरेल बताउँछन् । 

‘हिजो हाम्रोमा पनि ४ वटा मत त्यस्तै भएको थियो, त्यसलाई बदर भएको मानियो, स्विकार्नु प¥यो नि’ उनले भने, ‘मतदान अधिकृतको कमजोरीले समस्या आयो ।’ यता माओवादी केन्द्रको नगर समितिले मतदान अधिकृतलाई कारबाही गर्न माग गर्दै निवेदन दिएको छ । सोही निवेदनको आधारमा कारबाही गर्न सिफारिस गरिएको हो । नगर सचिव विदुर महतका अनुसार मतदान अधिकृतको फटाइँका कारण प्राविधिक रूपमा माओवादी केन्द्रको उम्मेदवारलाई हराएको देखिन्छ । ‘मतपत्रमा साइन नगराई प्राविधिक रुपमा हाम्रो उम्मेदवार हराइएको छ’ उनले भने, ‘मित्रवत प्रतिस्पर्धा नै हो, मतदान अधिकृतको नियत चाहिँ हाम्रा मान्छेलाई हराउने देखियो । उहाँहरूले मतपत्र माथि सही नगरेको देखियो । मेयरदेखि डब्बल चुनाव चिन्हसँग १२ वटा एक छापे मत छ ।’ 

उनले काङ्ग्रेससँग रुष्ट नभई मतदान अधिकृतसँगको असन्तुष्टि रहेको बताए । ‘कारबाही भएर ठोस निर्णय नआएसम्म स्थगित राख्नुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने, ‘अरू वडामा गणना गरे हुन्छ भनेर हामीले भनेका छौँ । तर, निर्वाचन अधिकृतले त्यो गर्न चाहेको देखिएन ।’ गणनाको क्रममा अन्तिम मतपरिणामपूर्व करिब ८० मत गणना बाँकी रहँदा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद उत्पन्न भएको थियो । 

माओवादी केन्द्रको प्रदर्शनका कारण व्यापक रूपमा सुरक्षाकर्मी परिचालित गरिएको थियो । फ्रन्ट लाइनमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र म्यादी प्रहरी खटिएका छन् । माओवादी कार्यकर्ताले राजीनामासम्मको माग गर्दै आन्दोलित बनेका थिए भने काङ्ग्रेस कार्यकर्ताले अन्तिम मतपरिणाम घोषणा गर्न माग गरेका थिए ।