धरान । हस्ताक्षरविनाको मतपत्रको विषयमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले धरानस्थित निर्वाचन अधिकृतको कार्यालय अगाडिको बार तोडफोड गरेपछि सेना परिचालन गरिएको छ । 

‘फ्रन्ट लाइन’ मा नेपाली सेना खटिएका छन् । धरान २० विष्णुपादुका मतदान स्थलको १८ वटा मतपत्रमा त्यहाँस्थित मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि आन्दोलन गरेको थियो । आन्दोलनको क्रममा कार्यालय अघिल्तिरको बार तोडफोड गर्दै निर्वाचन अधिकृत पुष्करराज नेपालको राजीनामा माग गरेका थिए । 

हाललाई धरान २० को अन्तिम परिणामलाई यथावत राखी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने भएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको जवाफका आधारमा अगाडि बढ्ने भएको छ । यता गणकका रुपमा खटिएका माओवादी प्रतिनिधिले बदर मतलाई गणना नगर्ने सहमति भए पनि कार्यकर्ताले त्यसलाई स्वीकार गरेका छैनन् । जसले गर्दा माओवादीले उक्त मतपत्र पनि गणना गर्नुपर्ने, गणना नभएमा पुनः मतदान गर्नुपर्ने माग राखेको छ । 

यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित मुख्य निर्वाचन कार्यालयलाई यस विषयमा सूचित गर्ने भएको छ । हाल स्थगित भएका अन्य वडाको मतगणना भने चालु राखिएको जनाइएको छ । हाल धरान ८, १९ र १२ नम्बर वडाको गणना थालिएको छ । 

यता नेपाली काङ्ग्रेसले भने धरान २० को अन्तिम परिणाम घोषणा गर्न माग गर्दै आन्दोलन थालेको छ । माओवादीले स्थगित गर्ने र काङ्ग्रेसले घोषणा गर भन्दै मतगणना स्थलमा जम्मा भए पछि झडप हुने स्थिति सिर्जना भएको छ ।