धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र पार्क गरी राखेको मोटरसाइकल हराएको छ ।  मंगलबार राति गाइनो वर्ड नजिकै  पार्क गरी राखेको को ३७ प ६५५२ नम्बरको  पल्सर २२० सीसीको मोटरसाइकल हराएको हो ।   

भुवन श्रेष्ठको नाममा रहेको कालो रङ्गको उक्त मोटरसाइकल राती १० बजे रेडक्रसको छेउमा पार्क गरी सुत्केरी श्रीमतीको कुरुवा बसेका बेला हराएको धरान ५ का मिलन राईले बताएका छन् । उनले भने ' रेडक्रसको छेउमा पार्क गरेर राखेको थियो बिहान ६ बजे हेर्दा मोटरसाइकल पार्क गरेको ठाउँमा थिएन । '

मोटरसाइकल हराएसँगै त्यहाँ रहेको सुरक्षा गार्डलाई जानकारी गराए पनि सीसी क्यामरा नभएका कारण चोरी हुनेगरेको प्रतिक्रिया दिएको राईले बताए । राईले भने ' पार्क गरेको ठाउँमा मोटरसाइकल नभएपछि सेक्युरिटीलाई  जानकारी गराइम तर सीसी क्यामरा नभएका कारण केही गर्न नसक्ने भन्नुभयो ।  '

उनले मोटरसाइकल हराएसँगै इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्रफिक कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय चक्रघट्टीमा समेत जानकारी गराएको बताएका छन् । 

प्रतिष्ठान धरानको पार्किङ स्थलबाट प्रायः मोटरसाइकल चोरी भइरहने गरेको छ । प्रतिष्ठानले सुरक्षाको लागि निजी सेक्युरिटी कम्पनीलाई जिम्मा जिम्मा लगाइएको छ । प्रतिष्ठान हाता भित्र सीसी क्यामरा नहुनु र कमजोर सुरक्षाका कारण दिउसै पनि चोरी हुनेगरेको पाइएको छ । 

  बिरामी लिएर आउने आफन्त, वार्डमा कुरुवा बसेका बिरामीका आफन्तको मात्र होइन, स्वास्थ्यकर्मीहरूकै पनि मोटरसाइकल हराइरहन्छन् ।