धरान उपमहानगर प्रमुख तिलक राई २०७६ मङ्सिर १४ गते भएको उपनिर्वाचनमा कम्युनिष्टको गढ मानिएको धरानमा निर्वाचित भए । नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिका तत्कालीन सभापतिसमेत रहेका राईले नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभ्न नहुने र करको दर पुनरावलोकन गर्ने मुख्य चुनावी मुद्दा बनाएर निर्वाचन जित्न सफल भएका थिए । उनै राईसँग गरिएको साढे २ वर्षे कार्यकालका विषयमा आधारित कुराकानीको संपादित अंशः

साढे २ वर्षे कार्यकालमा सम्झनयोग्य काम के के गर्नुभयो ?
 –यो दुई वर्षे कार्यकालमा धरानको लामो समयदेखि विवादमा रहेको बसपार्कलाई निर्णयार्थ प्रस्तुत गरी निर्माणका लागि स्रोतको समेत सुनिश्चितता गरी काम सुरु गरेँ । हाल ३० प्रतिशत काम भइरहेको छ । फोहोरमैला व्यवस्थापन गर्न सफल भएँ । त्यो पनि उत्पादन र नगरलाई आम्दानी हुने गरी । बिग्रेका सडकलाई सडक विभागसँग समन्वय गरेर कालोपत्रे गरेँ । जलाधार क्षेत्रको जग्गाको व्यवस्थापन गरिएको छ । नेपाल सरकारले आप्mनो नाममा ल्याउने काम भएको छ । धरानको बीच भागमा रहेको खहरे खोलालाई खहरे कोरिडोरको रूपमा विकास गरी दुवैतर्फ १४ फिटको सडक निर्माण गर्न सफल भएँ । सभागृहलाई साढे ८ करोडमा टेण्डर आह्वान गरिएको छ । साविक पाँचकन्या गाविस हाल धरान–५ मा २ किलोमिटर कालोपत्रे गरिएको छ । स्थानीय संस्कार, संस्कृतिको प्रवद्र्धन गर्न कालो बङ्गुर र तीनपाने कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने प्रस्ताव प्रदेश सरकारमा पठाएका छौं । सुकुम्बासी समस्या समाधानका लागि १३ हजार ५ सय घरको लगत सङ्कलन गरेर निस्सा दिँदैछौं । सर्दु करिडोर प्रदेश सरकारसँग समन्वय गरेर ठेक्कासमेत लागेर निर्माण कार्य सुरु भएको छ । नगरवासीलाई सरकारको अनुभूति दिलाएँ ।

खानेपानी समस्या उस्तै छ, परियोजनामा समस्या कि वितरणमा ? करको दर पुनरावलोकन कति भयो ?
–खानेपानी वितरणमा समस्या छैन । परियोजनाको डीपीआरअनुसार उत्पादन हुन सकेको छैन । वेल थप गरेर मात्रै केही सहज भएको हो । योजना कार्यान्वयनमा मन्त्रालयसँग समन्वय गरेर विज्ञ टोलीसँग सुझाव अनुसार खानेपानी व्यवस्थापन गर्न लागेका छौं । खानेपानी समस्यालाई खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र उपमहानगरको त्रिपक्षीय छलफलबाट समाधान गर्न लागेका छौँ । खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न एकीकृत खानेपानी आयोजनाको डीपीआर निर्माणका लागि खानेपानी मन्त्रालयले ६ अर्बको योजना अगाडि बढाएको छ । केही पुनरावलोकन पनि गरेँ भने कर वृद्धि गरिनँ ।

उपमहानगरको जिम्मेवारी लिएर काम गर्न अव्ठ्याराहरु पनि रहेछन् ?
नगरको संरचनागत उपस्थितिका आधारमा समस्याग्रस्त नै थियो । बहुमत प्रतिपक्ष हुँदा पनि हामी सबै जनताका प्रतिनिधि हौँ भनी नगरको हितमा काम गर्न अनुरोध गरेँ । बहुमतप्राप्त प्रतिपक्षलाई दलका प्रतिनिधिसँग मिलाएर काम गर्नु सफलता हो ।

आफैले आफैलाई मूल्याङ्कन गर्दा पास कि फेल ? १०० पूर्णाङ्कमा कति अङ्क दिनुहुन्छ  ?
–पास । कोरोनाकालमा पास भयौँ । म १ सय प्रतिशत भन्दिनँ, डिस्टिङ्सन दिन्छु ।

अब निर्वाचनकेन्द्रित हौँ । गठबन्धन रहेको छ । निर्वाचनमा पार्टीले विजय गर्ला ?
–उपनिर्वाचनमा काङ्ग्रेसले सिङ्गल विजय गरेको हो । राष्ट्रिय रूपमा गठबन्धन भएको छ । धरानमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउँछौँ । गठबन्धन सफलतापूर्वक अघि बढेको छ । नगरबासी र मतदातामा उत्साह थपिएकाले जित्ने परिस्थिति सिर्जना भएको छ ।

आधार के के हुन् ?
–प्रमुख आधार सङ्गठन हो । विगतमा भन्दा सङ्गठन विस्तार गरी पार्टीलाई मजबुत बनाएका छौँ । टोलटोलमा सङ्गठन बनाएका छौँ । गठबन्धनले उत्साह मात्रै थपेको छैन, जित्ने निश्चित भएको छ ।

एमाले भन्दा फरक के छ ?
–एमालेभन्दा धेरै फरक छ । काङ्ग्रेस यहाँको माटो सुहाउँदो दल हो । जनतालाई मुक्ति दिने पार्टी हो । उत्पीडितदेखि सम्भ्रान्तलाई मिल्ने नीति, सिद्धान्त काङ्ग्रेससँग छ । काङ्ग्रेसले कुरालाईभन्दा कामलाई प्राथमिकता दिन्छ । यसर्थ पनि निर्वाचन जित्छौँ ।

उपनिर्वाचन ०७६ भन्दा कति मतले जितिन्छ भन्ने दाबी गर्नुहुन्छ ?
–नेपाली काङ्ग्रेसको नीति, सिद्धान्त र नेतृत्वप्रति आस्थावानहरू बढेका छन् । धरानमा नयाँ मतदाताहरू पनि काङ्ग्रेसका पक्षमा देखिन्छन् । कम्तिमा पनि ८ हजारमाथि मतान्तरले विजयी बन्छौँ । प्रमुख पदमा करिब ३७ हजार मत ल्याउने आँकलन छ । स्वतन्त्र उम्मेदवारलाई जाने मत दलप्रति चित्त नबुझाउनेहरूको हो । तर, त्यो मतलाई मूलधारमा ल्याउने प्रयासमा छौँ । त्यसका लागि आगामी दिनमा राम्रो काम गरेर आकर्षण गर्नुपर्छ ।

कमजोरीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
–हामी घरदैलो अभियानमा छौँ । सामाजिक राजनीतिक रूपमा काम गर्दैै जाँदा केही कमी कमजोरी हुन्छन् । नगरबासीले असन्तुष्टि व्यक्त गरेका हुन्छन् । असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ । व्यक्तिगत कमजोरीलाई स्वीकार्नु पर्छ ।

चुनावी सन्दर्भमा एमालेलाई कसरी हेरिन्छ ?
–सम्मान गर्छु । एमाले प्रतिपक्ष पार्टी हो । धरानमा एमालेको सङ्गठन चुस्त र राम्रो थियो । त्यो हेरेर म काङ्ग्रेसमा लागेको हुँ । काङ्ग्रेसलाई पनि त्यस्तै बनाउनु पर्छ भनेर लागेँ । अहिले सङ्गठन व्यवस्थित भएकै कारण उपनिर्वाचन जित्यौँ । अब पनि जित्नेछौं ।

गठबन्धनमा धोका होला भन्ने लाग्दैन ?
–नेपालमा गठबन्धनको संस्कृति त्यति फस्टाएको छैन । गठबन्धन बाध्यात्मक परिस्थिति हो । हामीले हाम्रो  भूमिकालाई अक्षरशः पालना गर्नुपर्छ । राजनीतिमा २ प्लस २ बराबर ५ पनि हुन्छ । आम मदतादातामा गठबन्धनको उद्देश्य, आवश्यकता र महत्व बुझाउन सकेमा जित सुनिश्चित छ । मुलुकलाई स्थायित्व दिन गठबन्धन गरिएको हो ।

अन्त्यमा के भन्नुहुन्छ ?
–विश्व महामारीको रूपमा आएको कोरोनालाई घरबास र प्रवासमा रहेका धरानेहरूको सहयोगमा सही व्यवस्थापन गर्न सकियो । यहाँका सरोकारवालाहरूसँगको समन्वयमा २७ महिनाको अवधि विवादरहित काम गर्न सफल भएँ । त्यही संस्कृतिको आधारमा गठबन्धन भएको छ । नगरको मेयरमा किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघासहित गठबन्धनका सम्पूर्ण उम्मेदवारहरूलाई अमूल्य मत दिई जिताउन अनुरोध गर्न चाहन्छु ।