धरान । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवामा ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा आफ्नै नातिनी पक्राउ परेकी छन् ।

सुखनीदेवीको हत्या आरोपमा २४ वर्षीया नातिनी ममता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । नातिनी ममता र हजुरआमा सुखनदेवीबीच सामान्य विवाद हुँदै आएको र घटनाको दिन पनि विवादपश्चात् हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना चैत २३ गतेको हो । मृतक सुखनीदेवीका पति बच्चुलाल बजार गएको मौकामा हत्या गरी ममता भागेकी थिइन् । बजारबाट फर्किएका बच्चुलालले पत्नी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बजार जाँदा सकुशल रहेकी सुखनीदेवी फर्किएर आउँदा मृत भेटिएपछि बच्चुलालले हत्या भएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । सोही सूचनालाई आधार मानेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले तत्काल घटनास्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो । उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरिएको थियो ।

टोलीले अनुसन्धान गर्दै जाँदा त्रियुगा–१३ मै बस्ने नातिनी ममतालाई पक्राउ गर्न सफल भएको हो । घटना भएको दिन ममतालाई मृतक सुखनीदेवीले टिभी खोल्नका लागि घरमा बोलाएको र सोही क्रममा विवाद सिर्जना भएको प्रहरीमा बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार टिभी हेरिरहेको अवस्थामा दुईबीच विवाद हुँदा ममताले हजुरआमालाई लात्तीले हानी भूईंमा लडाई घाँटीमा थिचेर हत्या गरी खाटमा सुताएर भागेको अनुसन्धानबाट खुल्न आएको छ । आरोपित ममतालाई वैशाख १७ गते प्रहरीले पक्राउ गरी उदयपुर जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी आचार्यले जानकारी दिए ।