सङ्घाई उपनामले परिचित धरानमा बाम किल्ला तोडिएपछि देशभर नै चर्चापरिचर्चा भयो । त्यो चर्चा अहिले पनि सेलाउन सकेको छैन । यही बीचमा दोस्रो पटक स्थानीय तहको निर्वाचन नजिकिएको छ । बाम विरासत धर्मराएको उपनिर्वाचनको घाउ पुर्न एमालेजन घरदैलो अभियानमा छन् । विगतको विरासत फर्किएला त ? सङ्घीय सांसद् जयकुमार राई भन्छन् :

२०७६ सालको उपनिर्वाचनमा धरानमा एमालेका उम्मेदवार पराजित हुनुभयो; यो चुनावमा  विरासत फर्काउने भन्दै हुनुहुन्छ, सम्भव छ ?
२०१७ सालको निर्वाचनदेखि गएको उपनिर्वाचनसम्म धरान वामपन्थीहरूको बर्चस्व रहेको थियो, तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजयलाई पार्टीले प्रतिष्ठाको रूपमा हेरेको छ । अन्य ठाउँमा पनि चुनाव हा¥यौं तर धरान हार्दा देशमै चर्चाको विषय बन्यो । कसरी कम्युनिष्ट हा¥र्यो भन्ने चर्चा चल्यो ? त्यो विगतको पाठलाई आधार बनाउँदै एमाले जनप्रतिनिधिहरूले गरेको काम, जनविश्वास नै चुनाव जित्ने आधार हुन् । उपनिर्वाचनबाट जितेर गएका प्रमुख तिलक राईले के गरे ? त्यसैले अब फेरि एमालेकै जनप्रतिनिधि आवश्यक रहेको जनताले अनुभव गर्न थालेकाले पनि हाम्रो उम्मेदवारको जित सुनिश्चित छ ।

एमाले फर्किने आधारहरू के–के छन् ?
आजको धरानको खाका कोरेको नेकपा एमालेले नै हो । स्वर्गीय ध्यानबहादुर राई, मनोजकुमार मेन्याङ्बोको नेतृत्वले नै जनताको सहभागितामा विकास निर्माण गर्न सकिन्छ भनेर उदाहरण पेश गर्नुभयो । धरानलाई सुन्दर, सफा, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारयुक्त व्यापारिक सहर नारा अगि बढाउँदै धरानका वडाहरूका सडकहरू कालोपत्रे गर्ने, ड्रेन निर्माण गर्ने कार्यको थालनी एमालेकै नेतृत्वमा भएको हो । यी आधार नै एमालेका लागि पर्याप्त छन् । अहिलेको स्मार्ट बसपार्कको सुरुवात पनि एमालेकै पालामा सुरु भएको छ । यसले गर्दा पनि एमालेलाई जनताले विश्वास गर्छन् ।

आदिवासी जनजातिको सहर धरानको भाषा, कला, संस्कृतिको विकास गर्न एमालेसँग के छ योजनाहरू ?
स्वर्गीय प्रमुख तारा सुब्बाले नेकपा एमालेबाट स्थानीय चुनाव जितेपछि धरानमा प्रज्ञा प्रतिष्ठान गठन गर्नुभयो । यो प्रदेश १ मै पहिलो थियो । यहाँको स्थानीय भाषा, कला, संस्कृृति, संस्कार, यहाँको भूगोललाई हेरेर पाठ्यक्रम तयार गर्ने भन्ने कुरा घोषणा–पत्रमै छ ।

धरान आदिवासी जनजातिहरूको सहरमा यति नै पर्याप्त हो त ?
विजयपुरमा आदिवासी जनजाति सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छ । यहाँका सबै जातजातिको पहिचान झल्कने सङ्ग्रहालयको निर्माण गर्न लागिएको छ । बजेट अभावमा अगाडि बढ्न सकेको छैन । एमालेले चुनाव जितेपछि त्यसलाई द्रुतगतिमा अगाडि बढाउनेछ ।

आदिवासी जनजातिको सहरमा यसपटक गैर आदिवासी प्रमुखमा उम्मेदवारी दिएको अवस्था छ, विगतको झैं परिणाम आउँला ?
कसको आवश्यकता पर्छ । उसैलाई पार्टीले उठाउने हो । यहाँ जात, धर्म विशेषले फरक पार्दैन । मान्छेको प्रश्न त हरेक प्रकारको उठ्छ । यो मानवीय स्वभाव हो । पार्टीले मञ्जु भण्डारी सुवेदीले नगरलाई नेतृत्व गर्न सक्नुहुन्छ भनेर नै उम्मेदवारको रूपमा उभ्याएको हो । यसअघि कुन्ता शर्मा, लीला सुब्बा श्रेष्ठले पनि चुनाव जितेको उदाहरणहरू छन् ।

यहाँ धेरै बेरोजगारी युवाहरू छन्; उनीहरूलाई रोजगार बनाउने एमालेको योजना के छ ?
शिक्षा, स्वास्थ्य, पर्यटन आदि उपनामले धरानलाई चिनाउँछौं तर रोजगारी सिर्जना गर्ने खालको उद्योग स्थापना गर्न सकेका छैनौं । त्यही कारण सङ्घीय सरकारको समन्वयमा धरान–६ पानवारीमा औद्योगिक ग्राम निर्माण सुरु गरेका छौ । धरान(८ को तीनकुनेको औद्योगिक क्षेत्रलाई थप विकास गर्न पहल गरिरहेका छौं । यसका लागि सङ्घमा पनि समन्वय भइरहेको छ । प्रदेश सरकारमा पनि यहाँबाट प्रतिनिधित्व गर्नुहुने माननीयहरूले पहल गर्नुहुनेछ । यसरी धरानको बेरोजगारी समस्यालाई समाधान गर्न र धरानबाहिरको उद्योगमा काम गर्न जाने युवाहरूलाई धरानकै उद्योगमा स्वरोजगार बनाउन पहल गर्ने छौ ।

तपाईं सङ्घीय सांसद भइरहँदा धराने जनताले के पाए ?
चुनावी दौरानमै धरानलाई पुरानो व्यापारिक सहरको रूपमा पुनस्र्थापना गर्नुपर्छ भनेर आम मतदातासँग प्रतिवद्धता गरेको थिएँ । सोही अनुरूप त्यो साखलाई फर्काउन धरानलाई चारैतिर सडक सञ्जालले जोड्नु पर्छ भनेको थिए । त्यसका लागि अहिले मदन भण्डारी राजमार्ग धमाधम बनिरहेको छ । सङ्घीय सरकारबाट धरानमा सर्दु खोलामा पुल, पटनाली खोलामा पुल, ठकुरी खोलाको पुल, मङ्गलबारेदेखि विष्णुपादुका जाने पुल, झुम्काको लगुना चौक हुँदै कुमार खत, हरियाली हुँदै रास ताल जाने बक्लौरीसँग जोडिएको छ । तीबाहेक धरानभित्रै पनि ससाना पुलहरू निर्माण गरिएका छन् । यसरी सडक सञ्जाल जोडेर धरानको व्यापार–व्यवसायलाई अन्य नगरहरूसँग जोड्ने प्रयास भएको छ । यो सँगै धरानमा विद्युत प्रशारण लाइनको सव स्टेशन निर्माण, केवलकार सञ्चालन, नेपाल पर्यटन बोर्डको कार्यालय यसै क्षेत्रमा राख्नका लागि साथै खेलकुदको विकास गर्न निरन्तर पहल गरिरहेको छु । त्यसकारण एमालेबाट जितेका उम्मेदवारले काम गर्छ भन्ने बुझेर वैशाख ३० गतेको चुनावमा एमालेलाई मत दिनुस् भनेर आग्रह गर्दछु ।