धरान । सप्तरीको रूपनी थातथलो रहेका बास्मैत माइझ (थारू) जातिको खा खामान वंशावलीको १३ औं दियाद सम्मेलन सप्तरीको बनिगाउँमा सम्पन्न भएको छ ।

चैत २५ र २६ गते गरिएको सम्मेलनमा बासमैत वंशावलीको उत्पत्ति र थातथलोको विषयमा चर्चा गरिएको थियो । रूपनी गाउँपालिका ३ मकरी गाउँबाट बास्मैतहरूको उत्पत्ति भएकाले त्यस ठाउँमा बास्मैत जातिका लागि भवन निर्माण गरिने भएको छ । उक्त ठाउँमा मन्दिर, धर्मशाला पनि निर्माण गरिने भएको हो । उक्त ठाउँमा मन्दिर तथा भवन निर्माणका लागि जामुन चौधरी, सुजन चौधरीले जग्गा दान दिने घोषणा गरे ।

त्यसक्रममा जातिगत पुस्तक विमोचन गरिएको कार्यक्रम संयोजक तथा सभापति मनोहर चौधरीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि अरुणकुमार चौधरी तथा ज्येष्ठ नागरिकहरूको हातबाट पुस्तक विमोचन गरिएको थियो । प्रमुख अतिथि अरुणकुमार चौधरीले बास्मैत जातिले मनाउने चाडपर्व, विवाह, रहनसहन सबैमा एकरूपता ल्याउनुपर्ने बताए । 

कार्यक्रममा एकल महिला तथा ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको थियो । यसक्रममा बास्मैत माइझ वंशावलीको मन्दिर निर्माण गर्नका लागि वीरबल चौधरीको अध्यक्षतामा समिति गठन भएको छ ।