विजयपुर । पहिचानवादी नेता मल्लके सुन्दरले मातृभाषा वा नेवारी भाषा नजान्ने व्यक्ति नेवा देय् दबू नेतृत्वमा आउन नहुने बताएका छन् ।

सोमबार धरानस्थित नेवा देय् दबुको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुन्दरले नेपाल भाषा जान्ने मात्रै आउनुपर्ने बताए । उनले नेवा देय् दबू २७ वर्षअघि नेवार समुदायको कला, धर्म, संस्कार, संस्कृति र भाषाको संरक्षणका लागि स्थापना भएकाले पनि नेतृत्वमा आउने व्यक्तिले भाषा जानेको हुनुपर्ने बताए ।

उनले राणाकालदेखि नै कला, संस्कृति नामेट गर्नका लागि राज्यका शासकहरूले दमन गरेको बताए । उनले नेवारको पहिचानवादी आन्दोलनमा धेरैले जेलजीवन भोग्नुका साथै ज्यान गुमाउनु परेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेवारका छोराछोरीहरू डाक्टर, इन्जिनियरिङ अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया जाने भएकाले राज्यसत्ताको नेतृत्वमा आउन नसकेको बताए । उनले राजनीतिमा नआउनाले नै नेवार समुदाय पछि परेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगर प्रमुख तिलक राईलगायतको उपस्थिति रहेको थियो । उद्घाटन हुनुपूर्व नेवा देय् दबूले छाताचोक, माछाभौडी हुँदै भानुचोकसम्म झाँकीसहित र्याली गरेको थियो ।

सातौँ महाधिवेशनको अवसरमा नेवा देय् दबूले रक्तदान कार्यक्रम पनि गरेको छ । रक्तदान कार्यक्रममा ३० युनिट रगत सङ्कलन भएको थियो । धुलिखेल समाज धरानको संयोजनमा कार्यक्रम भएको संयोजक अनिता श्रेष्ठले जानकारी दिइन् ।

युगलकुमार श्रेष्ठको अध्यक्षतामा लोकतान्त्रिक चौतारीमा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन सत्रपछि बन्द सत्र कार्यक्रम रहेको छ । अध्यक्षका लागि तीन जना आकाङ्क्षी रहेका छन् ।