धरान । एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजना पूरा भए १८ घण्टासम्म पानी दिने खानेपानी व्यवस्थापन बोर्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अहिले आएर गलत सावित भएको छ ।

दैनिक एक करोड ५२ लाख लिटर खानेपानी उत्पादन हुने दाबी गरेको भए पनि सुख्खा मौसम सुरु नहुँदै धरानमा खानेपानी हाहाकार सुरु भएको छ । यसबीचमा केही वडाले आफ्नै पहलमा वडावासीलाई खानेपानी खुवाइरहेका छन् । मङ्गलबारबाट धरानको ९ नम्बर वडाले आफ्ना वडाका करिब ५ सय ५० घरधुरीलाई वडाकै पहलमा खानेपानी ट्याङ्की निर्माण गरी खानेपानी खुवाउन सुरु गरेको छ ।

यसअन्तर्गत धरान–९ को चर्चलाइनमा ५ हजार लिटर क्षमताको ट्याङ्की राखेर वडावासीलाई पानी वितरण सुरु गरेको छ । दैनिक खानेपानीको हाहाकार भएको गुनासो लिएर स्थानीयवासी आउने गरेका कारण पनि वडावासीको मागलाई मध्यनजर गर्दै वडाका ५ वटा ठाउँमा ५–५ हजार लिटरका ट्याङ्की जडान गरी पानी वितरण गर्न लागिएको वडाध्यक्ष रत्नबहादुर कट्वालले जानकारी दिए ।

उनका अनुसार चर्चलाइनमा मङ्गलबारबाट सुरु भएको छ भने आचार्यलाइन, पूर्णपथ, विनायक पथ, गौतम पथमा ट्याङ्की जडानको काम भइरहेको छ । वडाले आफ्ना नागरिकलाई ट्याङ्करबाट पानी खरिद गरेर ट्याङ्कीमा भरिदिने र पानी वितरण गर्ने योजना रहेको छ ।

वडाले त्यसका लागि गत आर्थिक वर्षमै साढे १० लाख रुपैयाँ रकम बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट यसपटक आफ्ना वडावासीलाई खानेपानी वितरण गर्न लागिएको हो । वडामा १८ वटा टोल छन् ।

जसमा कुल ४ हजार ५ सय जनसङ्ख्या छन् । उक्त जनसङ्ख्यालाई पानी सहज रूपमा दिने तयारी रहेको वडाध्यक्ष कट्वालले बताए । उनका अनुसार बोर्डको १८ घण्टा पानी वितरण गर्ने दाबी अहिले आएर असफल सिद्ध भएकाले वडाका नागरिकको मागलाई पूरा गरिएको बताए ।

‘बोर्डले सहजै पानी खुवाउला भनेर नेपाल खानेपानी संस्थान धरान शाखा खारेज गर्नुपर्छ भन्दै दुई–चार पटक आन्दोलन गर्ने जनप्रतिनिधि मै हुँ, तर अहिले आएर संस्थानले जति पनि पानी खुवाउन सकेन’ –उनले भने ।

अहिले धरान–९ ले मात्रै हैन, धरान–७ ले पनि आफ्ना वडावासीलाई ट्याङ्करबाट खरिद गरी खानेपानी खुवाउँदै आइरहेको छ । खानेपानी व्यवस्थापन बोर्ड आएपछि खानेपानी सहज हुन्छ भन्ने धरानवासीको चाहना अहिले आएर गलत सिद्ध भएको छ । तर, पनि राजनीतिक दलहरूले खानेपानी वितरण चुस्त नभएकाले समस्या भएको दाबी गर्न भने छाडेका छैनन् ।