इनरुवा । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड थामी सक्नु छैन ।
कार्यालय समयअगावै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभई फारम लिन लाइनमा बस्नेको भीडसमेत उत्तिकै बाक्लो छ । युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह दुई महिने सरकारी जागिरमा झुम्मिएका छन् ।
एकाबिहानै लाइनमा पालो पर्खने अधिकांशको चाहना भनेको खर्च जुटाउनु नै हो । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि फारम भर्न बाध्य भएको अधिकांशको भनाइ छ ।
उनीहरू भन्छन्, ‘सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन । खाली बस्नुको साटो थोरै भए पनि घर घर्च जुट्छ । त्यही भएर दुई महिने सरकारी जागिर ‘म्यादी’ खान आएको ।’ युवा मात्र नभई अधवैंशे उमेर समूहका व्यक्तिहरूसमेत म्यादी बन्ने इच्छा बोकेर घण्टौं लाइनमा छन् । साना नानी साथमा लिएर लाइन बस्ने आमाहरूको सङ्ख्यासमेत उत्तिकै छ ।
उनीहरू सबै बेरोजगारीको पीडालाई थोरै भए पनि मत्थर पार्न म्यादी प्रहरी बन्ने सपना बोकेर चर्को घाममा लाइनमा बसेको बताउँछन् । म्यादीका लागि साधारण लेखपढ गर्न सक्नेमात्रै पुग्ने भए पनि आवेदन दिने शिक्षित बेरोजगारको सङ्ख्यासमेत ठूलो छ ।
उनीहरूको भनाइमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । उनीहरू भन्छन्, ‘पढे लेखेर नि विदेशिनुबाहेकको विकल्प छैन । म्यादीमा आउनु रहर नभई बाध्यता हो ।’
शैक्षिक प्रमाण–पत्र अनिवार्य नभएकाले आवेदन दिने शिक्षित बेरोजगारको सङ्ख्या यकिन नहोला । यद्यपि म्यादी बन्न उर्लेको भीडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई भने गिज्याइरहेको स्पष्ट छ ।
नेपाल सरकारले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि देशभरबाट १ लाखको सङ्ख्यामा छनौट गर्ने गरी म्यादी प्रहरीको आवेदन खुलाएको छ । जसमध्ये सुनसरीबाट म्यादीमा २ हजार १ सय ४३ जना छनौटमा पर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।