धरान / पण्डित काशीनाथ उपाध्याय-हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान, धरानले भाषा, संस्कृति तथा साहित्यको क्षेत्रमा योगदान पुर्याउने भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेलसहित चार जनालाई ‘वाङ्मय पुरस्कार’ प्रदान गरेको छ ।
सोमबार धरानमा आयोजीत प्रतिष्ठानको दशौं र एघारौं संयुक्त वार्षिकोत्सव कार्यक्रममा ‘वाङ्मय पुरस्कार-२०७६’ प्रा.डा.पोखरेल र झापा, दमकका प्राध्यापक मोहनप्रसाद भण्डारीलाई प्रदान गरियो ।
त्यस्तै ‘वाङ्मय पुरस्कार-२०७७’ काठमाडौंका डा.बद्री पोखरेल र प्रदेश १ का पूर्वप्रमुख समेत रहेका धरानका प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङलाई प्रदान गरियो । पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.पुरुषोत्तम भट्टराई तथा प्रतिष्ठानका अध्यक्ष प्रा.नारायण शर्मा कट्टेलले जनही नगद २१ हजार १११ सहित दोसल्ला र नेपाली टोपि र सम्मान पत्र प्रदान गरे । कार्यक्रममा सम्मानित प्रा.डा. माधवप्रसाद पोखरेलले आफुले विभिन्न देशमा पाएका सम्मान भन्दा आफु जन्मिएको ठाउँमा पाएको सम्मान सबैभन्दा महत्वपूणर् लागेको बताए । त्यस्तै सम्मानित प्रा.डा.तुम्बाहाङले कट्टेल परिवारले प्रतिष्ठान स्थापना गरेर आफ्ना मातापितालाई सन्तानले सम्झनु पर्छ भन्ने सन्देश दिएको बताए ।
त्यसैगरी प्रतिष्ठानले २०७६ सालको ‘पण्डित कमलापति-डम्बरकुमारी कट्टेल वाङ्मय पुरस्कार’ झापाको कमल गाउँपालिका स्थित ‘श्री सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिर’लाई र २०७७ को पुरस्कार झापाकै गोलधाप स्थित ‘ओमकारेश्वर वैद्धिक विद्यापीठ, गायत्री स्वरुपाश्रम’लाई प्रदान गरेको छ । दुवै संस्थालाई पुरस्कार राशी १५ हजार १११ सहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै ‘हरिप्रिया प्रतिभा पुरस्कार’बाट २०७६का लागि मोरङकी कवयित्री निर्मला कोइराला र २०७७का लागि सुनसरीकी कवयित्री मञ्जु श्रेष्ठलाई नगद ११ हजार १११ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो ।
प्रतिष्ठानले विद्यार्थीहरुलाई प्रदान गर्दै आएको ‘मेधावी पुरस्कार’ २०७६का लागि सुर्यमणि दाहाल र पुष्प पराजुली तथा २०७७ का लागि वसन्त सुवेदी र पुकार पोखरेललाई प्रदान गरिएको छ । उनीहरुलाई जनही नगद ४ हजार तथा सम्मानपत्र प्रदान गरियो ।
‘आत्मचिन्तन’ र ‘श्रद्धाञ्जली’ विमोचन
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्रा.नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित दुई पुस्तक ‘आत्मचिन्तन’ र ‘श्रद्धाञ्जली’ विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.पुरुषोत्तम भट्टराईसहित अतिथिहरुले पुस्तकको विमोचन गरे । दुवै पुस्तक पद्यमा छन् । लेखकले पुस्तक मार्फत आफ्ना स्वर्गीय मातापितालाई सम्झना गरेका छन् । विमोचित पुस्तकहरुको चर्चा गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका सह-प्राध्यापक हरिप्रसाद दाहालले दुवै पुस्तकले समाजका लागि महत्वपूणर् शिक्षा दिएको बताए । पुस्तकहरु प्रतिष्ठानले नै प्रकाशनमा ल्याएको हो ।