विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जानेगरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले आधा दर्जनलाई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
‘प्रहरीले घटनाको अनुसन्धानको लागि ५/ ६ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बाढाएको छ ।’
मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ । केही व्यक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । यस घटनाको छानविन पनि हुने उनले बताए । आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको उनले बताए ।
२४ वर्षिय प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिएका छन् ।
खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ बर्षिया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।
घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानिय झडपमा परि घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीको खुटामा चोट लागेको उनले बताए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।
१ नं. प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खटिएका प्रहरी हल्वदार ३८ वर्षिय कृष्ण कुमार यादव, ३६ वर्षिय उमेश वरही, ३६ वर्षिय संगीता प्रसाइ, ३९ वर्षिय संजय यादव घाइते भएका छन् । यस्तै इलका प्रहरी कार्यालय बेलबारीबाट खिटिएका प्रहरी हवल्दार ३९ वर्षिय खुबी सावा, प्रहरी जवान २१ वर्षिय जाबुक खड्का, २५ वर्षिय लाल मिश्रा, २६ वर्षिय संजय भुजेल, २४ वर्षिय बिमल धिमाल, २१ वर्षिय दिपक कुमार यादव रहेका छन् । इलका प्रहरी कार्यालय लेटाङका चार जना हल्वदार घाइते भएका छन् ।
जसमा ३८ वर्षिय सन्त बहादुर मगर, ३५ वर्षिय मिक्वा योङहाङ, ४१ वर्षिय शिव कुमार यदाव, ३८ वर्षिय रेनुका सोनाम रहेका छन् । यस्तै ३६ वर्षिय दिपेश राय, ३१ वर्षिय मनिता राई र ४० वर्षिय धुव्र बहादुर कार्की रहेका छन् । उनीहरुको उपचार विराटनगरस्थित कोशी अस्पताल र नोबलम भइरहेको छ । ६ जना उपचारपछि फर्किएका छन् ।
स्थानियबासी लेटाङ–८ का मिलन खड्का र लेटाग ५ का ३३ वर्षिय आयुष लिम्बूसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । खड्काकोे नोबेल र लिम्बूको कोशीमा उपचार भइरहेको छ ।
होलीका दिन होली खेल्ने क्रममा खेरुवा स्थित सामाजिक शिक्षाका ५६ वर्षिय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षिय बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।