विराटनगर । मोरङको  लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु  आदेश जारि गरिएको छ ।

सोमबार बिहान ७ बजेदेखि अर्को निर्णय नहुन्जलेसम्मका लागि कर्फ्यु लगाउने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। उनका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइने प्रशासनले जनाएको छ।

यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट आइतबार साँझ लेटाङ(५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

आइतबार बिहान लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

घटनाबारे विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो।

आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड गर्नथालेपछि प्रहरीले हवाइफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको थियो। घटनामा दुई विद्यार्थीसहित १९ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।