भद्रपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ ।

आइतबार देखि चैत्र ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । झापामा दुई हजार ७ सय ६४ जना म्यादी प्रहरीका लागि भर्ना खुलेको हो ।

भर्नाका लागि आवेदन दिनेहरुको बिहानैदेखि भिड बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । म्यादी प्रहरीमा भर्ना हुन प्रहरी जवान सरह मापदण्ड आवश्यक हुने बताइएको छ ।

चुनावका लागि आवश्यक ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ ।

म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । एकजना म्यादी प्रहरीले ४० दिन काम गर्दा जम्मा ४४ हजार ४४० रुपैयाँ प्राप्त गर्नेछ ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा २०७८ साउन १ गतेदेखि विभिन्न पदका लागि आवेदन दिएका शारीरिक रुपमा तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तीर्ण भै प्रवेश पत्र पेश गर्ने, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट निवृत्तिभरण प्राप्त ब्यक्तिहरु, पूर्व बनरक्षक, बिदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरि अवकाशप्राप्त नेपाली नागरिक र विगतका चुनावमा म्यादी प्रहरीमा भर्ना भै सन्तोषजनक काम गरेकाहरुलाई प्राथमिकता दिइने छ ।

स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।