यासोक । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा लाग्ने त्रिशाली पुजा र मेलाको तयारी तिब्र पारिएको छ । पूर्वको ऐतिहासिक धार्मिक स्थल कुम्मायक—कुस्सायकमा तीन वर्षको अन्तरमा लाग्ने त्रिशाली पुजा र मेलाको तयारी तिब्र पारिएको हो ।

बैशाख २ गतेदेखि ४ गतेसम्म लाग्ने तङ्सुम तङ्नाम त्रिशाली पूजा एवं मेला सञ्चालन गर्न गाउँपालिकाले १८ लाख रुपैयाँ बिनियोजन गरेको छ । 

गाउँपालिकाले तेस्रो कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कपको लागि ६ लाख ५० हजार सहयोग गर्ने भएको छ । कोल्ड कपको आयोजना सयपत्री क्लव कुम्मायकले गर्ने  भएको छ ।

त्यस्तै भलिवल प्रतियोगिताको लागि कुम्मायक—कुस्सायक समाज नेपालले आयोजना गर्ने भएको छ । भलिवलको लागि पालिकाले २ लाख सहयोग गर्ने भएको कुम्मायक—१ का वडाअध्यक्ष तथा मुल समारोह समिति अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए  

ब्याडमिन्टन प्रतियोगिता कुम्मायक ब्याडमिन्टन संघले आयोजना गर्ने भएको छ । संघलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यस अघिका कुनै पनि त्रिशाली मेला र पुजाको अवसरमा कुम्मायक गाउँपालिका भित्रका स्रष्टा/कलाकार सम्मान कार्यक्रम भएको थिएन ।

तर यस पटक भने गाउँपालिकाले स्रष्टा/कलाकार सम्मान तथा सास्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाकै सङ्कल्प ब्याण्डलाई जिम्मेवारी तोकिएको छ । स्रष्टा/कलाकार सम्मानको लागि २ लाख ५० हजार बिनियोजन गरेको लावतीको भनाइ छ । 

मेलाको अन्य आकर्षणमा रमाइलो मिनि मेला, रोटेपिङ, स्टलहरु सहित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सास्कृतिक कार्यक्रम हुने समितिले जनाएको छ । मुल समारोह समितिले पूजा व्यावस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, मेला बजार ब्यवस्थापन उपसमिति, खेलकुद उपसमिति लगायतका समिति गठन गरी जिम्मेवारी बाँडफाड समेत गरेको छ ।