यासोक । पाँचथरको फिदिम नगरपालिका–१३ का दावा लामा उमेरले ७३ वर्ष पुगे । अस्पतालछेउको बेन्चमा बसेका उनको आँखामा शल्यक्रियापछि पट्टी बाँधिएको थियो । मौन अवस्थामा बसेका उनको आँखाको पट्टी खोलियो ।

हत्तपत्त हातमा बोकेको पुर्जामा उनको ध्यान गयो । पुर्जामा लेखिएको अक्षर पढ्न थालेपछि सबैको ध्यान खिच्यो । त्यतिकैमा चिकित्सकले ‘मलाई देख्नुभयो बुबा’ भन्दै प्रश्न गरे । चिकित्सकको प्रश्न नसकिँदै उनले भनिहाले ‘देखिन्छ, तपाईंले कालो लुगा लगाउनु भा’छ, हातमा क्यामेरा छ । अर्को मान्छेले कोट लगाउनु भा’छ ।’ उनको खुसी यतिमै सीमित भएन ।

कसैको पर्वाह नगरी उनी ‘झम्के फुली कानैमा...’ भन्दै गीत गाउँदै छमछमी नाच्न थाले । उनको नाचले सबैको ध्यान केन्द्रित गरिरहेको थियो ।

उनी मात्रै होइन, फिदिम–४ गढीका रामतुलसी नेम्वाङको खुसी पनि कम थिएन । छेउकै साथी छमछमी नाच्दा उनी पनि ताली बजाउँदै साथ दिइरहेका थिए । राम्रोसँग देख्न नसक्ने उनी परिवारका सदस्यको सहारामा शिविरमा पुगेका थिए । नजिक र टाढाको दृश्य ठम्याउन मुस्किल पर्ने उनलाई बोलीबाटै मान्छे चिन्नु पर्ने अवस्था थियो । लामो समयदेखि यस्तै पीडा भोग्दै आएका नेम्वाङको लागि आँखा शिविर वरदान सावित भयो ।

फिदिम नगरपालिकाले शिविर सञ्चालन गर्न चालु आर्थिक वर्ष २०७८/०७९ मा ५ लाख ९८ हजार बजेट विनियोजन गरेको थियो । सोही रकमबाट मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा जनसेवा समाज पाँचथरले आँखा शिविर सञ्चालन गरेको थियो । शिविरमा दावा र नेम्वाङ जस्तै २ सय १८ जनाले आँखाको दृष्टि पाए ।

त्यस्तै १ हजार ४ सय ५७ जनाले आँखा जाँच र औषधि उपचार पाएका थिए । चार दिनसम्म सञ्चालन भएको शिविरबाट प्रत्यक्ष वा अप्रत्यक्ष गरी १ हजार ६ सय ७५ जनाले सेवा पाएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जनाए ।

आँखाको शल्यक्रिया गर्न झापा, मोरङ र सुनसरीका अस्पतालमा पुग्ने नागरिकलाई नगरपालिकामै शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले बताए । ‘आँखाको उपचार गर्न सदरमुकामबाहिर जाँदा ठूलो धनराशि खर्च हुन्थ्यो । हामीले नगरपालिकाभित्र रहेका आँखाका रोगीहरूलाई निःशुल्क सेवा दिएका छौं’–नगर प्रमुख नेम्वाङले भने ।